पार्टी विधि विपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल

काठमाडौँ, २७ असोज । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताउनुभएको छ ।

नेता रावलले आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नं १ अन्तर्गतका स्थानीय तह र वडाबाट सिफारिस भई आए पनि पार्टी नेतृत्वले आफूलाई टिकट नदिएर कार्यकर्ताको अपमान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले स्वाभिमान, सुशासन र न्यायका पक्षमा उठाएको आवाजमा ऐक्यबद्धता जनाउँदै आएकाले मलाई टिकटबाट वञ्चित गरिएको छ, मैले निर्वाचन क्षेत्रमा असोज ७ गते आयोजना गरेको भेला नेतृत्वले रोक्न खोजेको थियो, मलाई निर्वाचनमा हराउन सकिँदैन भन्ने प्रतिवेदन आएपछि टिकट दिइएन, यो षड्यन्त्रपूर्ण स्वेच्छाचारी निर्णय हो” ।

पार्टीका नेता, कार्यकर्तालाई प्रताडित गर्नेलाई हेटौँडामा टिकट दिइएको उल्लेख गर्दै नेता रावलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कालाई बिहान पार्टी प्रवेश गराएर दिउँसो टिकट दिइएको सुनाउनुभयो । पार्टीमा विधि विपरीतका यस्ता कदमका विरुद्ध आफू सधैँ उभिँदै आएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष केपी शर्मा ओली संवेदनशील विषयमा छलफल हुँदा पनि संसद्मा जानुभएन, आफूलाई बोल्न मन लागेका बेलामात्र जानुभयो, पार्टी सिद्धान्त र नीति उहाँले अनुसरण गर्नुभएन, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आधाआधा समय प्रधानमन्त्रीको गोप्य सहमति गरेर ओलीले मुख्य गल्ती गर्नुभयो, त्यहाँबाट धेरै समस्या आए ।”

सवारी साधनबाट देवनागरी लिपि हटाउने, युनिफिकेसन चर्चका नाममा ओली प्रधानमन्त्री निवासबाट होटलमा डेरा सरेर होलीवाइन खुवाउने, एमसिसी प्रकरण, प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोलगायत विषयको विरोध गरेकाले आफूलाई तारो बनाइएको उल्लेख गर्दै नेता रावलले स्वाभिमान र राष्ट्रियताका पक्षमा विचार राखेकैले टिकटबाट वञ्चित गरिएको बताउनुभयो ।

ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश भएको नक्शा प्रकाशन नगरेर पनि गल्ती गरेको उहाँको भनाइ थियो । पार्टीमा नाफाखोरलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै उहाँले पहिले नेकपा र पछि एमाले विभाजनको मुख्य दोषी पनि नेतृत्वमा भएकाले ओली नै रहेको निष्कर्ष सुनाउनुभयो ।

नेता रावलले भन्नुभयो, “ओलीले आफैँ समस्याको भुमरी सिर्जना गरेर दोष अरुलाई थोपर्न टिकट वितरणमा स्वेच्छाचारी निर्णय गर्नुभयो, बहुमतप्राप्त सरकारलाई पार्टी नीतिअनुरूप चलाउने जिम्मेवारी पूरा गर्न नसक्नु ओलीकै दोष हो” ।

युनिफिकेसन चर्चको होलीवाइन प्रकरणपछि देशव्यापी रूपमा संस्कृतिविरुद्ध आक्रमण भएको उल्लेख गर्दै उहाँले धर्मान्तरणका काम भएकाप्रति जिम्मेवार निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । आफूले पाँच दशक पसिना बगाएको एमाले पार्टी नछोड्ने उल्लेख गर्दै नेता रावलले स्वेच्छाचारी निर्णयको भने समयको गति र पार्टीको मतिअनुसार विरोधमा उत्रिने विचार राख्नुभयो । पार्टीमा राजनीतिक र वैचारिक सङ्घर्ष जारी राख्ने घोषणासमेत उहाँले गर्नुभयो ।

पाँच दशक पार्टीमा योगदान गरेका घनश्याम भुसालको क्षेत्रमा पार्टी नेता, कार्यकर्तालाई प्रताडित गर्ने कित्ताका दीपक बोहरालाई टिकट दिएपछि भुसालले स्वतन्त्र उठ्न गरेको निर्णय सही रहेको विश्लेषण पनि उहाँले पत्रकार सम्मेलनमा सुनाउनुभयो । यस्ता कदमका विरुद्ध सबैले विद्रोह गर्ने नेता रावलको भनाइ थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।