छाडा बोलेर जिल्लाको बेइज्जत गर्नेलाई किन भोट दिने : ओली

काठमाडौं, २६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रम डोटी पुगेका उनले प्रेम आले मगरतर्फ इंकित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताए ।

उनले आलेले डोटीको मात्रै नभइ नेपाली संस्कृतिकै बेइज्जत गरेको बताए । उनले डोटीको मान्छेले यस्तै बोल्छ त ? भनेर प्रश्न गरेका थिए । उनले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुराएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिइ एमालेलाई दिन आग्रह गरे ।

निर्वाचनमा कलाकार पनि भिड्दै
– भेषराज कार्की/काठमाडौं, २६ कात्तिक (रासस) ः आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् ।

कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ । राष्ट्रियसभा सदस्य रहिसक्नुभएकी गायिका कोमल ओलीले नेकपा (एमाले)बाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहनु भएको छ ।

अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दर्ता गराउनुभएकी उहाँ घरदैलोमा पुग्दै आफ्नो गृह जिल्लामा मत मागिरहनुभएको छ । केही वर्षयता अभिनेत्री थापा कलाकारिताभन्दा पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । “यो मेरो गृह जिल्ला हो । मैले यहाँको भूभाग बुझेकी छु । यहाँको सेवा गर्दै राजनीति सुरु गरेकी हुँ”, उहाँले बताउनुभयो ।

फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभयो । दासढुङ्गा, बधशाला, ग्रेटर नेपाल जस्ता फिल्म र डकुमेन्ट्री निर्देशन गरिसक्नुभएका पण्डितले विगत छ महिनादेखि नै तयारी गरिरहनुभएको थियो । “अहिले जनताले स्वतन्त्रलाई पनि विश्वास गर्न थाल्नुभएको छ । यसैले उम्मेदवारी दिएको हुँ । किनकि मैले स्थानीय विकास गर्न कसैको निर्णय पर्खिनु पर्दैन, स्वतन्त्र छु”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्यमै गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवारी दिनुभएका उहाँले समाज परिवर्तनका लागि आफू स्वतन्त्र रुपमै चुनावमा होमिएको बताउनुभयो ।

निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा धादिङको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ । कमेडी च्याम्पियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको छ । फिल्म निर्माता तथा अभिनेता रोज राणाले पनि नेपाली कांग्रेसका तर्फबाट प्यूठानको क्षेत्र नं १ को २ बाट प्रदेशसभातर्फ उम्मेदवारी दिनुभएको छ । “मलाई पार्टीले विश्वास गरेर अवसर दिएको छ । यसको पूर्ण सदुपयोग गर्नेछु”, उहाँले भन्नुभयो ।

फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश २ तर्फ उम्मेदवारी दिनुभएको छ । केही समययता सक्रिय राजनीतिमा रहेका श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट उम्मेदवारी दिनुभएको हो । “मेरो उम्मेदवारी युवालाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो । परिवर्तनका लागि अगाडी बढ्नै पर्छ”, उहाँले भन्नुभयो । श्रेष्ठले सम्झिदिए पुग्छ, दुई दुना पाँच, ह्याप्पी न्यू इयर, पल्टन, जङ्गली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर जस्ता फिल्ममा अभिनय गर्नुभएको छ ।

चुनावी मैदानमा देखिएका कलाकारको उपस्थितिले कला क्षेत्रलाई टेवा पुग्ने विश्वास हाँस्यकलाकार शिवशङ्कर रिजालको छ । “कलाकारहरूलाई प्रचारप्रसारका लागि मात्र नभइ जनताको सेवा गर्न योग्य ठान्ने दलले अझैँ सङ्ख्या बढाउनु जरुरी छ । यद्दपि सुरुवात राम्रो छ । म लगायत धेरै साथीलाई यसले चुनावी मैदानमा आउन हौसला मिलेको छ”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।