झापा १ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा

बनियानी, २९ कात्तिक । झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ ।

चुनावलाई आफ्नो पक्षमा पार्न उहाँहरु घरदैलोमा व्यस्त हुनुुहुन्छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बन्नुभएको छ । उहाँहरु सहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । ती मध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोग्नुभएका शर्मा तेस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ भने एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृहक्षेत्र झापा–२ भए पनि झापामा इन्ट्री गर्नुभएको छ । संसद् छिर्ने प्रयासलाई मूर्तरुप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा र खरेल दुवै अहोरात्र खटिरहनुभएको छ ।

महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा–१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै हुनुहुन्छ । “जनताले स–साना कुरा खोजिरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले हामी गर्न सक्ने कुरामात्र गर्छौँ, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौँ ।”

पदमा नरहँदा पनि झापा क्षेत्र नं १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रमा काम गरेको शर्माको भनाइ छ । संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गर्नुभएको छ ।

एमाले–राप्रपा तालमेलका उम्मेदवार खरेलले आफू जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको भएको बताउनुभयो । “जनताको समस्या मेरो समस्या हो”, उहाँले भन्नुभयो, “मैले ती समस्या बुझेको छु ।”

मेची, निन्दा, हडियाखोलमा बर्सेनि आउने बाढीले त्यहाँका स्थानीय समस्यामा पर्ने भएकाले तटबन्धन निर्माण गर्न आफू प्रतिबद्ध रहेको खरेलको भनाइ छ । हात्ती समस्या नियन्त्रणका लागि प्रभावकारी कार्य गर्ने उहाँले बताउनुभयो । “यहाँका समग्र समस्या समाधानका लागि हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “हामीलाई मतदान गरे विजय गराउन मतदातासमक्ष अनुरोध गर्दछौँ ।”

शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहनुभएको छ । दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन । विसं २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको शर्मा २०७४ मा पार्टीका प्रवक्ता हुनुभयो । विसं २०७६ मा कांग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख हुनुभएका उहाँ हाल महामन्त्री हुनुहुन्छ ।

विसं २०६४ र २०७० को संविधानसभा सदस्य रहनुभएका वरिष्ठ अधिवक्ता खरेल पूर्वकानुनमन्त्री हुनुहुन्छ भने हाल उहाँ एमालेका स्थायी समिति सदस्य र झापा इञ्चार्ज हुनुहुन्छ । उहाँ कानुनको ज्ञातासमेत मानिनुहुन्छ ।

झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभा (१) मा गोपाल तामाङ र (२) मा श्यामवीर लिम्बू चुनावी मैदानमा हुनुहुन्छ भने एमाले–राप्रपा तालमेलअन्तर्गत खरेल, प्रदेशसभा (१) मा रविन कोइराला र (२) मा सविना बजगाईँ कट्टेल हुनुहुन्छ । मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाको ४, ५ , ६, ७ वडा मिश्रित झापा क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार दुई सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ । राप्रपासँग पाँच हजार नौ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीसँग एक हजार दुई सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग दुई सय ६२ मत छ ।

नयाँ थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।