बिक्री गर्ने बेलाका सुन्तलामा रोगको प्रकोप

धु्रवसागर शर्मा/गलेश्वर, १ मङ्सिर । पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटमै झर्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

बजार पठाउने बेला सुन्तलामा औँसा कीरा र स्केल रोग भेटिएको म्याग्दीको वास्कुना र दोसल्लेका कृषकले बताएका छन् । बास्कुना र दोसल्लेमा बढी सुन्तला उत्पादन हुने ठाउँ हुन् ।

कृषकका अनुसार औँसा कीरा र स्केल रोगका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब १७ प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताउनुभयो ।

म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तला हो । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग सुन्तला उत्पादक कृषकका लागि टाउको दुखाइ बनेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताउनुभयो ।

“अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ”, उहाँले भन्नुभयो, “सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ ।”

सिग्देलका अनुसार स्केलरोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने उहाँले बताउनुभयो ।

यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैँचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई प्लास्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो ।

आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई प्लास्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

अन्नबाली छाडेर व्यावसायिक सुन्तला खेती उत्पादनमा लागेका कृषक बिक्री गरेर आम्दानी गर्ने बेलामा फल झर्ने र कुहिने भएपछि मर्कामा परेका हुन् । “बेच्ने बेलाका सुन्तला बोटैमा कुहिएर झर्न थालेका छन्, कीराको समस्याले हैरानी दिएको छ”, अन्नपूर्ण–७ दोसल्लेकी सुन्तला कृषक माया पुनले भन्नुभयो ।

आफ्नो सुन्तला बगैँचामा उत्पादन भएका फलमध्ये करिब १० प्रतिशत सुन्तला झरेको उहाँले बताउनुभयो । सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा कीरा र स्केल रोगको प्रकोप देखिएपछि कृिष ज्ञान केन्द्रले अध्ययन तथा रोकथाम सुरु गरेको छ ।

सो ज्ञान केन्द्रबाट खटिएको प्राविधिक टोली औँसा कीरा र स्केल रोगको समस्याबारे बुझ्न हिस्तान र बेनी नगरपालिका–४ बास्कुनामा पुगेर झरेको एक दाना सुन्तला अध्ययन गर्दा ११ औँसा कीरा भेटिएको सिग्देलले जानकारी दिनुभयो ।

अमिलो जातका फलफूल सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यसको सङ्क्रमण फैलिएको छ । कृषि ज्ञान केन्द्रले कीराको सङ्क्रमण रोक्न प्लास्टिक झोला माग गरेका छन् ।

म्याग्दीमा सात सय छ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएका बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।