प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश

वासुदेव पौडेल/सन्तोष गौतम/गण्डकी, ५ मङ्सिर । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ ।

निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाउनुभयो । कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।

कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मनुभएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गर्नुभएको छ । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आउनुभएका उहाँ ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बन्नुभएको छ ।

जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका उहाँ नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिनुभएको थियो । उहाँ पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बन्नुभएको थियो । उहाँ पार्टीको साविक लेते गाउँसभापति पनि बन्नुभएको थियो । हाल पार्टीको महासमिति सदस्य रहेका उहाँ गण्डकी प्रदेश कार्यसमितिमा रहनुभएको छ ।

प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गर्नुभएको थियो । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्नुहुन्छ । रोमी (योगेशका बुबा) र प्रेम मामा–फूपूका छोरा हुनुहुन्छ ।

रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाउनुभएको थियो । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् ।

विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिर्नुभएको थियो । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाउनुभयो । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । रोमी २०७३ मा वाणिज्यमन्त्री हुनुहुन्थ्यो । विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो ।

योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताउनुभएको थियो । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाउनुभएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।