ओझेलमा ऐतिहासिक प्रिमाकोट गढी

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा रहेको छ ऐतिहासिक प्रिमाकोट गढी । किरात राजा कुम्राहाङले शासन चलाएको ऐतिहासिक गढी अग्लो डाँडामा जंगलबीचमा अवस्थित छ । तर किरात समुदायको ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको प्रिमाकोट गढी प्रचार–प्रसार र संरक्षण अभावमा ओझेलमा परेको छ । 

देउरालीडाँडाबाट जंगल र झाडी पार गर्दै प्रिमाकोट गढी पुगिन्छ । जंगलबिचमा दुईतिर बंकरको अवशेष रहेको छ । दुई बंकरकोबीचमा दरबारको चरको ढुंगाहरु यत्रतत्र अवस्थामा छरिएका छन् । गढी आसपासमा रातो माटो झिक्नेक्रममा खिया लागेको तीरहरु भेटिने गरेको छ । हाल घुमफिरका लागि स्थानीय प्रिमाकोटगढी पुग्ने गरेका छन् । 

प्रिमाकोट गढी र डुम्रेकोटका राजाबीचमा युद्धको मिति तय गरियो । प्रिमाकोट गढीका कुम्राहाङ चतुर थिए । उनले युद्धको अघिल्लो दिन छालाको जुत्ता व्यपारी (सार्की)को भेषमा सुराकी पठाए । सुराकी खास्टोमा जुत्ता पोको पारेर रावा खोला झरे र चिन्डोमा पानी भरेर डुम्रेकोटतिर निस्के । डुम्रेकोट पुगेपछि सोधपुछ भयो । उनले आफु जुत्ता व्यापारी भएको परिचय दिँदै जुत्ता किन्न आग्रह गरे । साँझ पर्दैगएकाले डुम्रेकोटका सेनाले उनलाई ‘रात पर्‍यो, यहीँ बस, भोली बिहान जुत्ता किनौंला’ भनेर राखे ।

युद्धका लागि डुम्रेकोटका सेनाले बन्दुक भरेर तयारी अवस्थामा राखेका थिए । राती प्रिमाकोट गढीका सुराकी उठेर प्रत्येक बन्दुकको नालमा चिन्डोको पानी हालिदिएर भागे । भोलीपल्ट युद्ध सुरु भयो । बन्दुकमा पानी पसेकाले युद्धमा डुम्रेकोटतर्फको सेनाको बन्दुक पड्केनन् । धनुषबाणको भरमा उनीहरु प्रिमाकोट गढीका सेनासँग पराजित भएको इतिहास रहेको स्थानीय सुरेन्द्र राई बताउँछन् । 

किरातको बसोबास रहेको प्रिमाकोट गढी आसपासमा क्रमशः खसक्षेत्री समुदायको आगमन भए । प्रिमाकोट गढीलाई पनि देउरालीडाँडा भनेर चिन्न/चिनाउन थालिए । किरात समुदायले नै देउराली भन्न थालेपछि प्रिमाकोटगढीको ऐतिहासिकता झनै ओझेलमा पर्दैगएको स्थानीय तुलबहादुर राईले बताए । ‘प्रिमाकोट गढीलाई देउरालीडाँडा भनेर चिन्न थालियो,’ तुलबहादुरले भने, ‘किरात समुदायले आफैले पनि गढीको बारेमा बिस्तृत रुपमा बुझ्न चाहेन । यसको संरक्षण गर्न पहल गरेनन् । यही कारण गढी ओझेलमा पर्ने नै भयो ।’ 

ऐतिहासिक पहिचानसँग जोडिएको गढीको उत्थान र संरक्षणमा हालसम्म औपचारिक रुपमा कुनै योजना बनेको छै्रन । गढीको प्रवद्र्धन गर्दै गाउँपालिकाकै पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । पछिल्लो समय ओझेलमा प्रिमाकोट गढी, भूमेथान र ऐतिहासिक सुरुङ कुलोलाई समेटेर पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष चिरञ्जिवी कार्की बताउँछन् । ‘यो किरात राईको ऐतिहासिक ठाउँ हो । यहाँ किरात सँस्कृति झल्काउने संरचना बनाउनेगरी डिपिआर बनाउने योजनामा छौँ,’ वडाध्यक्ष कार्कीले भने, ‘दुधकोसी जलाशययुक्त आयोजना बनेपछि जमेको ताल हेर्नका लागि समेत यो ठाउँ उपयुक्त पइन्ट बन्नेछ ।’ 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।