ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
काठमाडौँ, ४ फागुन (रासस) : खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते हुनुभएको छ । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उहाँकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते हुनुभएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उहाँकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँ गए राति नै उक्त अस्पताल पुग्नु भइ नेता भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सुनसरीमा तीन जनामा दादुरा पुष्टि
इनरुवा, ४ फागुन (रासस) :
सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङकलन गरेर परीक्षणका लागि पठाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ ।
गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ ।


