वायुसेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, २१ फागुन (रासस) :राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन् । पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले आज काठमाडौँ–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
“पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो हो”, उहाँले भन्नुभयो । निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिबार राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भर्नुभएको हो ।
उहाँहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौँ फर्कने उडान तालिका रहेको छ । बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट हुनुहुन्छ ।
मुख्यमन्त्री शाहको सरकारलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम, २१ फागुन (रासस) :
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६८ को उपधारा४ बमोजिम आज प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा भवन धनगढीमा बसेको प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावको पक्षमा दुई तिहाइभन्दा बढी ४१ प्रदेशसभा सदस्यले मत जोहर गर्नुभएको छ । प्रस्तावको विपक्षमा ११ मत जाहेर भएको थियो ।
बैठकको प्रारम्भमा सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
मुख्यमन्त्रीको प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सदस्यहरू नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, नेकपा (एमाले) का चक्रबहादुर मल्ल, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा तारा जोशीले भाग लिनुभएको थियो ।
प्रस्तावमाथि भएको छलफलपछि प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा मत सङ्कलन गरिएको थियो । सभामुख भण्डारीले मत विभाजनको परिणामबारे जानकारी दिँदै प्रस्तावको पक्ष अर्थात हुन्छ भन्नेमा ४१ मत र प्रस्तावको विपक्ष अर्थात हुन्न भन्नेमा ११ मत परेको र उक्त सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत रहेकोले मुख्यमन्त्री शाहले प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउनुभएको घोषण गर्नुभयो ।
प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा (एकीकृत समाजवादी) का चार सदस्यले मत जाहेर गर्नु भएको थियो । प्रदेशसभाको विपक्षी बेञ्चमा बस्नुभएका स्वतन्त्र सदस्य डा जोशीले पनि मुख्यमन्त्रीको पक्षमा मत जाहेर गर्नुभयो । विपक्षमा नेकपा (एमाले) का १० र राप्रपाका एक सदस्यले मत जाहेर गर्नुभएको थियो ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ५२ सदस्यले मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावको पक्ष र विपक्षमा भाग लिनुभएको थियो ।
केन्द्रमा बनेको दलहरूको समीकरणसँगै मुख्यमन्त्री शाहले प्रदेशसभाबाट सजिलैसँग विश्वासको मत पाउनुभएको हो ।
गत मङ्सिरको चुनाव लगत्तै मुख्यमन्त्रीमा नियुक्त नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पदबाट राजीनामा दिनुभएको थियो ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त हुनुभएको थियो ।
त्यसपछि शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


