एमालेमा जाने तयारी गरेपछि एसबाट निष्कासित भए केन्द्रीय सदस्य कर्माचार्य
नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीले निष्कासन गरेको छ। सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्मचार्यलाई शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यता समेत नरहनेगरी निष्कासन गरेको हो।
पार्टीको नीति कार्यक्रम, सङ्गठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा कृयाकलाप गरि अनेकौं पटक सम्झाउँदा पनि पार्टी हित विरुद्ध गतिविधि गरेका कारणले उनलाई निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
कर्माचार्य शनिबार ( साउन २०) नेकपा एमाले फर्कने तयारीमा छन्। त्यसअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले उनलाई निष्कासन गरेको हो। कर्माचार्यले भने एमालेमा गरिएको विद्रोहको औचित्य पुष्टि हुन नसकेको दाबी गरेका छन्।


