साउन २२ गते लिम्बुवान बन्द आह्वान
विजयपुर । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आगामी साउन २२ गते साेमबार लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेको छ ।
ऐतिहासिक सन्धी सम्झौतालाई कार्यन्वयनसहित प्रदेश पुनःनामाङ्कन गर्न दवाब स्वरुप साउन २२ गते (सोमवार) एकदिने बन्दको घोषणा गरेको हो ।
पहिचानबादीहरु तथा लिम्बुवानी जनताको स्वतन्त्रता र सार्वभौमिकता गुमेको दिनको रुपमा स्मरण गर्दै वर्तमान प्रदेश नम्बर एक पुनःनामाङ्कन आन्दोलनको परिपूरककै रुपमा स्थापित गर्ने उद्देश्यका साथ बन्दको घोषणा गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले जानकारी दिए ।
वर्तमान अवस्थामा देशमा रहेको ब्याप्त भ्रष्टाचार, भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, महँगी लगायतका बेथितिको सरकारलाई ध्यानाकर्षण गराउँदै खबरदारी गर्न एक दिने लिम्बुवान बन्द आह्वान गरिएको नेता पालुङ्वाले बताए ।
पार्टीले प्रदेशवासीलाई बन्दलाई आ–आफ्नो ठाउँबाट साथ–समर्थन र सहयोग गरिदिन अपिलसमेत गरेको छ ।
नेपालको राजनीतिमा संघीयता र जातीय मुक्तिको एजेण्डालाई प्रमुख रुपमा उठान गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले ०६६ साल साउन २२ गतेबाट बि.स. १८३१ को लिम्बुवान गोर्खा सन्धि धोका हो भन्दै कालो दिवसको रुपमा मनाउँदै त्यसदिन लिम्बुवान बन्द गर्दै आइरहेको अर्का नेता विष्णु थाम्देनले बताए । उनले १८३१ साउन १८ गते भएको ताम्रपत्र सम्झाैता उल्लङ्घन गर्दै साउन २२ मा भएको सन्धिले लिम्बुवानकाे स्वतन्त्रता गुमेको आराेप लगाए ।
राष्ट्रिय जनमुक्ति पार्टीले नेपालमा १२ प्रान्तकाे संरचना हुनुपर्ने माग गर्दै आएको छ । साेमबारकाे बन्द आह्वान गर्ने छ घटकहरूमा जनमुक्तिसहित सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय खम्बुवान लाेकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय माेर्चा, लाेसपानिकट लिम्बुवान राष्ट्रिय समिति, किरात खम्बुवान राज्य परिषद, किरात लिम्बुवान राज्य परिषद छन् ।


