माओवादी जनतासँगको सम्बन्ध पानी र माछा…अभिभावक र छोराछोरीको जस्तो बनाउने अभियानमा छः प्रचण्ड

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु समाजवादका लागि शान्तिपूर्ण लडाईँमा रहेको बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले. माओवादी फेरि एक पटक जनताको घरघरमा गएर जनतासँग जोडिने, संगठनलाई सुदृढ गर्ने संकल्पका साथ अगाडि बढिरहेको उनले बताए ।

‘हिजो हामी रत्तपातपूर्ण क्रान्तिमा थियौं । हातमा बन्दुक थियो । हामी लडाईँमा थियौं । तर, अहिले समाजवादका लागि हामी अर्को लडाईँमा जाँदैछौं । एकातिर सरकारले सुरुवात गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको लडाईँ अर्कोतिर हाम्रो पार्टीले सुरुवात गरेको समाजवादको निम्ति रुपान्तरणको अभियान जनताको घरघर र जनजनमा पुगेर फेरि एकचोटी जनतासँग जोडिने, संगठनलाई सुदृढ गर्ने र समाजवादी क्रान्तिको नयाँ यात्रा सुरु गर्ने संकल्पमा हामी छौं,’– उनले भने ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि बीचमा केही कमी कमजोरी गरेको उनको स्वीकारोक्ति थियो । उनले आफूहरु सुध्रिएर आत्मसमीक्षाको साथ अगाडि बढ्ने संकल्प गरिसकेको बताए ।

‘बीचमा केही कमीहरु भए । हामी अहिले आत्मसमीक्षा गरिराखेका छौं । तपाईँहरुका अगाडि, जनताको अगाडि, हाम्रा महान सहिदहरुका परिवारको अगाडि, बेपत्ता योद्धाहरुको परिवारको अगाडि, घाईते, अपाङ्ग र हिजो जनयुद्धमा हामीलाई साथ दिने जनताको अगाडि आत्मालोचना गर्दै हामी फेरिन चाहन्छौं । हामी तपाईँहरुसँग जोडिन चाहन्छौं । हामी फेरि एक भएर समाजवादको यात्रा अगाडि बढाउन चाहन्छौं भन्ने संकल्प गरेका छौं,’– उनले भने ।

तीन महिने अभियान लिएर नेता तथा कार्यकर्ताहरु जनताको घरघरमा जाने उनले बताए । माओवादी समर्थक र शुभचिन्तकको घरमा मात्रै नभएर यो अभियानमा माओवादी सपोर्ट, विरोधी र सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताको घरमा पनि गएर अहिले देशको स्थिति, माओवादीको चाहना, अहिले सरकारले लिएका नीति, कार्यक्रम र योजनका बारेमा बताईने उनको दाबी छ ।

तत्कालीन समयमा शान्तिपूर्ण वार्ता चलिरहेको अवस्थामा शान्तिविरोधी शक्तिहरुले दोरम्बा हत्याकाण्ड घटाएको उनको आरोप छ । उनले दोरम्बा घटना माओवादी जनआन्दोलनको इतिहासमा पृथक पृष्ठभूमिमा घटेको बताउँदै यसलाई संसारले नियाँलेको बताए ।

‘वीरता र बलिदानको प्रतीक दोरम्बा देशभरमात्रै चिनिएको छैन । संसारभर चिनिएको छ । शान्ति वार्ता चलिराखेको बेलामा शान्ति भंग गर्ने मनशायले केही प्रतिगामी तत्वहरुले गरेको षड्यन्त्रको प्रतीकका रुपमा र क्रान्तिकारीहरुबाट प्रदर्शन गरिएको वीरता र बलिदानीको रुपमा दोरम्बा संसारभर स्थपित छ,’– उनले भने ।

हिजोको जस्तै पानी र माछा, नङ र मासु, अभिभावक र छोराछोरीको सम्बन्ध बनाउने उद्देश्यका साथ शान्तिपूर्ण क्रान्तिको अभियानमा माओवादी रहेको उनको भनाई छ । भ्रष्टाचार, विभेद र अपमानका विरुद्ध आफूहरुले शान्तिपूर्ण रुपमा क्रान्ति गरिरहेको उनले बताए । सबै गठबन्धन दल र सबै शुभ चिन्तकलाई सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन उनले अपील गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।