रोनाल्डो नेतृत्वको अल नासरको लगातार दोस्रो हार
एजेन्सी । क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासरले साउदी प्रो लिग फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ ।
गएराति सम्पन्न खेलमा अल तावुनविरुद्ध अरब क्लब च्यापियन्स कपको विजेता अल नासर २–० ले स्तब्ध भयो ।
के एसयू फुटबल फिल्ड रिहादमा भएको खेलमा अल तावुनलाई सहज जित दिलाउन लेआन्द्रे तवाम्बा र अहमद बाहुसेनले १–१ गोल गरे ।
२० औँ मिनेटमा क्यामेरोनियन फरवार्ड लेआन्द्रे तावाम्बाले कर्नर किकमा हेडरमार्फत गोल गर्दै आगन्तुक टोलीलाई सुरुवाती अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अहमद बाहुसेनले दोस्रो हाफको इन्जिुरी समयमा गोल गर्दै अल–तावुनलाई सहज जित दिलाए ।
बाहुसेनले गरेको आक्रमण अल–नासरका गोलकिपर वालिद अब्दुल्लाहको खुट्टामा लागेपनि उनले बललाई क्लियर गर्न सकेनन् । अल तावुनको पाँच खेलाडीको ब्याकलाइन र गोलकिपरले प्रस्तुत गरेको रक्षात्मक चुनौतीले अल नासरका हरेक प्रयासलाई विफल पार्यो । घरेलु मैदानमा अल–नासरका साडियो माने, एन्डरसन तालिस्का र मार्सेलो ब्रोजोभिक सबै गोलविहीन रहे ।
सिजनको आफ्नो पहिलो खेलमा अल इतिफाकसँग २–१ को हार बेहोरेको अल नासर अल अंकविहीन रहदै लिगको १५ औं स्थानमा छ । दुई खेलमा एक हार र एक जितसहित ४ अंक जोडेको तावुन तालिकाको चौथौँ स्थानमा छ । साउदी प्रो लिग अन्तर्गतनै गएराति सम्पन्न अन्य खेलमा अल बेहादले अल सबाबलाई ३–१ ले पराजित गर्दा अल इतिफाकले अल हाज्मलाई २–० ले पराजित गर्यो ।


