चोट बोकेर नेयमार साउदी पुगेपछि …
एजेन्सी – ब्राजिलियन स्टार नेयमार साउदी क्लब अल हिलाल आवद्ध भइसकेका छन्। अल हिलालसंग सम्झौता गरेर उनी साउदी पुगिसकेका छन् भने उनलाई क्लबमा सार्वजनिक पनि गरिसकिएको छ।
तर नेयमारले शनिबार अल हिलालका लागि डेब्यू भने गरेनन्। चोट बोकेर साउदी पुगेका कारण नेयमारले शनिबार डेब्यू गर्न नसकेको बताइएको छ। प्रशिक्षक जर्ज जेससले एक पत्रकार सम्मलनका क्रममा नेयमार चोट बोकेर आइपुगेको जानकारी दिए।
जर्ज जेससका अनुसार नेयमारको खुट्टाको मांसपेशीमा समस्या देखिएको छ। नेयमार अहिले रिहाबमा रहेको जेससले बताए। नेयमारलाई ब्राजिलको विश्वकप छनोटमा समावेश गरिएको प्रति जेससले आपत्ति जनाए।
“नेयमार घाइते छन्। मांसपेशीमा सानो समस्या देखिएको छ। मलाई थाहा छैन कि उनी कहिले फर्कनेछन् र सामान्य रूपमा खेल्न र प्रशिक्षण गर्न तयार हुनेछन्। उनी ब्राजिलको राष्ट्रिय टोलीमा उपलब्ध हुनुहुँदैन। नेयमार रिहाबमा छन्।”,जेससले भने।


