९६ वर्ष लागिन् पूर्व मुमाबडामहारानी रत्न, हिमानी ट्रस्टले गर्यो सांस्कृतिक कार्यक्रम
काठमाडौं । पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह ९५ वर्ष पूरा गरी ९६ औँ वर्षमा प्रवेश गरेकी छन् । उनी १९८५ साल भदौ ४ गते जन्मेकी थिइन् ।
राजा महेन्द्रकी दोस्रो पत्नी हुन्, रत्न । उनकी दिदी इन्द्रको १९९६ सालमा तत्कालीन युवराज महेन्द्रसँग विवाह भएको थियो । तर, १८ भदौ २००७ मा इन्द्रको मृत्यु भयो । त्यसको दुई वर्षपछि महेन्द्रले साली रत्नलाई दुलही बनाएका थिए ।
राजा महेन्द्रको इन्द्र राज्यलक्ष्मी शाहबाट तीन छोरा र तीन छोरी भइसकेका थिए । छोराहरूमध्ये जेठा वीरेन्द्र, माइला ज्ञानेन्द्र र कान्छा धीरेन्द्र हुन् । वीरेन्द्र र धीरेन्द्रको दरबार हत्याकाण्डमा निधन भयो । तीन छोरीहरू शान्ति, शारदा र शोभामध्ये शान्ति र शारदा पनि दरबार हत्याकाण्डमै मारिएका थिए । राजा महेन्द्रका सन्तानमध्ये अहिले ज्ञानेन्द्र र शोभा मात्रै जीवित छन् ।
पहिल्यै महेन्द्रबाट ६ सन्तान भइसकेकाले इन्द्रले विवाहपछि बन्ध्याकरण गराएको बताइन्छ । उनका कुनै सन्तान भएनन् । नेपालमा गणतन्त्र आएपछि पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार त्यागे । पूर्वबडामहारानी कोमललाई भने वृद्धावस्थाका कारण नारायणहिटीभित्रै बस्ने व्यवस्था मिलाइएको थियो । उनी सार्वजनिक रूपमा खासै देखिन्नन् ।
पूर्व बडामहारानीको जन्मदिनको अवसरमा हिमानी ट्रस्टले सोमबार एउटा विशेष समारोह आयोजना गर्यो । राजधानीको सोल्टी होटलमा गरिएको कार्यक्रममा पूर्व राजा, पूर्व रानी तथा राजपरिवारका अन्य सदस्यहरू उपस्थित भएका थिए । गायक आनन्द कार्कीले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा हिमानीले गरेको डान्सले टिकटकमा चर्चा पाइरहेको छ ।
ट्रस्टले फन्ड रेजिङका लागि यो कार्यक्रम आयोजना गरेको बुझिएको छ । विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकाहरूलाई सहयोग गर्नका लागि ट्रस्टले आर्थिक संकलन अभियान अगाडि बढाएको हो ।


