एमालेबाट विद्रोह गर्नु ‘औचित्यपूर्ण’ भएको माधव नेपालको ठहर
काठमाडौँ — नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा(एमाले)बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन् ।
दुई दिनसम्म चलेको नेकपा(एकीकृत समाजवादी)को पोलिटब्युरो बैठकको सोमबार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालीन एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन्।
आफूहरूले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद् समाप्त पारिसकेको विश्लेषण अध्यक्ष नेपालको थियो ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले विद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरूमाथि दमन र अत्याचार हुने पनि बताए । त्यस्तै उनले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिनुभएको प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरूलाई आग्रह गरेका थिए ।
बैठकमा पोलिटब्युरो सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए । भोलिदेखि चल्ने पार्टीको केन्द्रीय कमिटीको बैठकको पूर्वतयारीका रूपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।


