प्रयोगकर्ता झुक्किंदा टिकटकमा बालेनको भिडिओ फेक लाइभ गर्नेलाई मालामाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पुराना भिडिओ टिकटकमा फेक लाइभ देखाउने व्यक्ति मालामाल हुन थालेका छन् । फेसबुकमा सेलिब्रिटीका फेक लाइभ गरी स्क्याम चलाउँदै आएका साइबर अपराधी पछिल्लो समय गिफ्ट संकलन गर्ने र फलोअर बढाउने उद्देश्यका साथ टिकटकमा सक्रिय देखिएका हुन् ।

व्यक्तिगत स्वार्थका लागि सेलिब्रिटीका लाइभ भिडिओ दुरुपयोग गर्ने घटना यो नै पहिलो भने होइन । विशेषगरी चर्चित व्यक्तिहरूले विभिन्न समयमा सामाजिक सञ्जालमा राखेका लाइभ कुराकानीका भिडिओलाई पुनः लाइभ देखाएर दुरुपयोग गर्ने प्रवृत्ति बढ्दो छ ।

सर्वसाधारणलाई स्क्याम (ठगी गर्ने मनसायले फैलाइने) लिङ्कमा क्लिक गराउन, अनावश्यक उपहारको प्रलोभन देखाउन, आफूसँग कुरा गरेको भान पारी फलोअर बढाउन यसरी पुराना भिडिओ दुरुपयोग हुने गरेको छ । बालेन, रवि लामिछाने, हर्क साम्पाङ, राजेश हमाल लगायत चर्चित व्यक्तिका लाइभ भिडिओ यसरी बढी दुरुपयोग हुने गरेका छन् ।

त्यसमा पनि अहिले काठमाडौं महानगरपालिकाका प्रमुख बालेनका भिडिओ अत्यधिक मात्रामा दुरुपयोग हुने गरेका छन् । फेसबुकमा स्क्याम लिङ्कमा क्लिक गराउनेदेखि टिकटकमा गिफ्ट माग्ने काममा विभिन्न व्यक्तिहरूले उनका भिडिओलाई पुनः लाइभ गराइरहेका देखिन्छन् । बालेन शाह फ्यान क्लब, बालेन शाह जस्ता नामबाट खोलिएका थुप्रै नक्कली टिकटक अकाउन्टमा शाहको लाइभ भिडिओ दुरुपयोग भइरहेको देखिन्छ ।

झन्डै एक वर्षअघि नेपालमा ‘नेपहपको श्रीपेच’ नामक र्‍याप रियालिटी शो आयोजना गरिएको थियो । जसमा शाह निर्णायक थिए । सोही समयमा उक्त शोमा आउन चाहने प्रतियोगीसँग फेसबुक लाइभमार्फत उनले प्रत्यक्ष कुराकानी मार्फत विभिन्न व्यक्तिका जिज्ञासा मेटाउने प्रयास गरेका थिए । सेतो स्वेट सर्ट लगाएर लाइभ आएका बालेनको सोही भिडिओ विभिन्न किसिमका ठगी कार्यमा दुरुपयोग हुने गरेको हो ।

हजारौंले हेर्छन् फेक लाइभ भिडिओ

सर्वसाधारणलाई झुक्याउने मनसायले फेक टिकटक अकाउन्ट बनाउने व्यक्तिले फेक लाइभका लागि टिकटक स्टुडियोको सहायता लिन्छन् । यो यस्तो टुल हो, जसले पहिले रेकर्ड गरिएका भिडिओलाई कुनै पनि समय टिकटकमा प्रत्यक्ष प्रसारण भइरहेको जस्तो देखाउन सघाउँछ ।

त्यस्तै फेसबुकमा कुनै पनि रेकर्डेड भिडिओलाई लाइभ जस्तो देखाउन बिजनेस स्विटको प्रयोग हुन्छ । यस्तै फिचरको दुरुपयोग गर्दै विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा सर्वसाधारणलाई झुक्याइरहेका छन् । आइतवार फ्यान क्लबको नाममा फेक लाइभ गरिएको भिडिओ हेर्ने भ्युअर हजारौंको सङ्ख्यामा देखिएका थिए ।

केही प्रत्यक्ष कुरा गर्न पनि लाइभ रिक्वेस्ट पठाउँछन् । तर, साधारण प्रयोगकर्ता पहिले नै आइसकेको उक्त भिडिओ फेक लाइभ हो भन्ने मेसो सम्म पाउँदैनन् ।

यही कुरा नबुझ्दा विदेशमा बस्ने नेपाली लगायत अन्य विभिन्न व्यक्तिले टिकटक लाइभमा सयौं डलरका गिफ्ट समेत दिइरहेका थिए । यसरी गिफ्ट पाउने भएपछि साइबर अपराधीहरू बारम्बार सोही भिडिओ दुरुपयोग गर्न प्रेरित हुने गरेका छन् ।

बालेनको सचिवालय भन्छः उजुरी गर्दा पनि रोक्न सकिएन

सामाजिक सञ्जालमा बालेनको नामका अनेकौं नक्कली अकाउन्ट बनेका छन् । बारम्बार त्यस्ता अकाउन्ट विरुद्ध साइबर ब्युरोमा रिपोर्ट गर्दा पनि समस्या समाधान हुन नसकेको बालेनका सचिवालय प्रमुख कुमार बेनले बताए । ५० औं अकाउन्ट बन्द गरिसकेको भए पनि सम्पूर्ण तवरबाट नक्कली अकाउन्ट हटाउन नसकिएको उनको भनाइ छ ।

“हामीलाई पनि धेरै कम्प्लेन आइरहेका छन्, सबै फेक हुन्,” उनले भने, “नक्कली ट्वीटर अकाउन्टबाट भएको ट्वीट समाचार समेत बनिरहेका छन् ।”

उनले टेकपानासँगको कुराकानीमा अगाडि भने, “साइबर ब्युरोमा पनि भनेको भन्यै छौं । एउटा, दुई ओटा होइन, ५० ओटा आईडी ब्लक गरिसक्यौं । स्क्याम धेरै नै भइसक्यो । हामीले पनि रिपोर्ट गर्ने र साइबर ब्युरोमा भन्ने हो ।”

आफूले थाहा पाएसम्म वा कम्प्लेन आएका सबै आइडीलाई रिपोर्ट गरिरहेको उनले सुनाए । “थाहा पाउन्जेलसम्म हामीले भनिरहेका हुन्छौं । उजुरी गर्ने काम नियमित भइरहेको छ,” उनले थपे । -टेकपाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।