एसिया कप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ ।

सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरुआत गरेको नेपालले सन् २०१४ मा पहिलो पटक आइसिसी टी–२० विश्वकप खेलेर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । उक्त सफलता नेपाली क्रिकेट इतिहासमा पहिलो सफलता थियो ।

त्यसयता लगातार विश्वकपको यात्रा तय गर्न कोसिस गर्दा पनि नेपालले सफलता हासिल गर्न सकेको छैन । नेपालले घरेलु मैदानमा गत वैशाखमा भएको एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पहिलो पटक डेब्युको अवसर प्राप्त ग¥यो । त्यतिबेला नेपालले फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो ।

विश्व क्रिकेटकै नम्बर एकमा रहेको पाकिस्तान र विश्व वरियतामा तेस्रो नम्बरमा रहेको भारत जस्ता बलियो टोलीसँग नेपाल एसिया कपमा खेल्दैछ । नेपाली क्रिकेट इतिहासमा करिब तीन दशकअघि सुरुआत भएको यसिया कपमा नेपालले सहभागिताको मौका पाउँदैछ ।

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज हुने १६औँ संस्करणको एसिया कपको उद्घाटन खेल हुँदैछ । नेपालले क्रिकेट वरियतामा विश्वको नं एक राष्ट्र पाकिस्तानसँग खेल्नेछ । नेपाल र पाकिस्तानको यो पहिलो भेट हो । उक्त खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे हुँदैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले पाकिस्तानविरुद्धको खेलमा आफ्नो टोलीले सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने यसअघि बताउनुभएको थियो । उहाँले आफू पाकिस्तान विरुद्धको खेलमा सकारात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कपमा पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो । उहाँले खेल निकै प्रतिस्पर्धात्मक हुने भन्दै आफ्नो टोली मानसिक रुपमा तयार रहेकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । आजको यो खेल नेपाल र नेपाली क्रिकेटप्रेमीका लागि निकै महत्वपूर्ण मानिएको छ । सबैको ध्यान यसै खेलमा केन्द्रित भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थले एसिया कप क्रिकेटमा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको भन्दै जितका लागि नेपाली टोलीलाई शुभकामना दिनुभयो ।

एसिया कप क्रिकेट यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा सञ्चालन हुनेछ । एसिया कपमा हुने १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहेको छ । यसलाई पनि दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

यसैगरी नेपालले पाकिस्तानविरुद्धको खेल सकाएपछि त्यतैबाट श्रीलङ्का जानेछ । त्यहाँ नेपालले समूह चरणको आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । भारत र नेपालबीचको खेल यही भदौ १८ गते हुनेछ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।