सांसद र सदन भारदारी सभा जस्तो छ : अध्यक्ष साह

नारायण न्यौपाने/काठमाडौँ, २३ असोज : आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्नुहुन्छ ।

सांसदसँग रासस संवादमार्फत उहाँले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गर्नुभयो ।

पूर्वमन्त्री साहले भन्नुभयो, “देश छाडेर भाग्ने महान् जस्तो, यहीँ बसेर धर्तीको सेवा गर्ने अपमानित र लाछीजस्तो देखियो, त्यसलाई बदल्न जरुरी छ । यो धर्तीमा बस्न पाएकामा गौरव गर्नुस् ।”

जनतामा आशा र उत्साह जागृत गराएमा पहाड बनिरहेको नदी धापलाई सहरमा परिणत गरेको उदाहरण आफ्नो निर्वाचन क्षेत्र भएको दाबी गर्दै उहाँले भन्नुभयो, “विदेश भाग्ने तिमीहरू गल्ती गर्दैछौँ, हामी मुलुकलाई सुन्दर बनाएर देखाउँछौँ, कायर र कमजोर होइनौँ, हामी महान् छौँ ।”

वाग्मती र बकैया नदीबाट प्रभावित रौतहटको धाप क्षेत्रबाट आफूले राजनीति सुरु गरेको समय कयौँले घर र खेती छाडेर सहर पसेको घटना स्मरण गराउँदै पूर्वसहरी विकासमन्त्री साहले अहिले त्यो ठाउँ सुन्दर गाउँ र नमूनामा बस्तीमा परिणत भएको दाबी गर्नुभयो ।

जनतामा आशा र भरोसा दिँदै रौतहटको अभियान देशभर फैलाउन आवश्यक रहेको बताउँदै नेता साहले सही र गलत व्यवहार र तथ्यले परीक्षण गरी नेपाल बनाउने अभियानमा सरिक हुन युवापुस्तालाई सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ, “नेपालमा अहिले भइरहेको अभ्यास संसदीय व्यवस्था नभई पार्टीका नेताको हालीमुहाली हो । सांसद र सदन भारदारी सभाजस्तो छ ।”

सांसदको काम भनेको ताली बजाउने र एस वा नोमा सीमित रहेको बताउँदै अध्यक्ष साहले भन्नुभयो, “नेताहरूले शासन गरिहनुभएको छ, उहाँहरूको स्तरमा जे हुन्छ, सदनमा त्यसलाई ल्याएर औपचारिकता दिने र पारित गर्नेमात्र काम हुन्छ ।”

नेता साहसँग मधेसी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव, नेकपा (माओवादी)को केन्दीय सदस्य, तत्कालीन नेकपाको मधेस प्रदेश अध्यक्ष र नेकपा (एमाले) स्थायी समिति सदस्य भई काम गरेको अनुभव छ । सांसद साहले मुुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका क्रममा नौ वर्ष भूमिगत र एक वर्ष बेपत्ता जीवन बिताउनुभएका साहले कानुन, न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालयको नेतृत्वसमेत सम्हाल्नुभयो ।

उहाँ विसं २०६२÷६३ को जनआन्दोलनपछि लगातार संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ । जनप्रतिनिधि कानुन निर्माणबाहेकका कार्यमा संलग्न हुनुहुन्न भन्नेहरू अयोग्य र बेइमान भएको तर्क प्रस्तुत गर्दै उहाँले दलीय प्रणाली भएको मुलुकमा संसद्ले बजेट र नीति तथा कार्यक्रम बनाउँछ भने सरकारको कार्यान्वयन गर्ने जिम्मेवारी भएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष साहले भन्नुभयो, “हामी नागरिक सर्वाेच्चतालाई सम्मान गर्छाैँ, कुन कार्यक्रम कहाँ आवश्यक र प्रभावकारी छ भनेर हेर्ने काम सदन र सांसदकै हो, त्यो उनीहरूले नगरे कसले गर्छ त ।” जनताका प्रतिनिधिको सर्वाेच्चता र निर्वाचित व्यक्तिको नेतृत्व कायम गर्दै कानुन निर्माणमा सांसदलाई पूर्णरूपमा स्वतन्त्रता प्रदान गर्नुपर्नेमा विधेयकका हरेक दफा र शब्दमा दलको ह्वीप लाग्ने प्रवृत्तिले गुणस्तरीय कानुन निर्माण हुन नसकेको उहाँले भनाइ प्रस्तुत गर्नुभयो ।

चुनावमा कुन उम्मेदवार निर्वाचित हुन्छ भनी पहिले नै आकलन गरिने विषयले जनसहभागिता र निर्वाचन प्रणालीको निष्पक्षतामाथि प्रश्न उठिरहेको बताउँदै अध्यक्ष साहले नेता विशेषको खल्तीबाट नाम राख्ने समानुपातिकले लोकतन्त्रकै खिल्ली उडाएको विचार प्रकट गर्नुभयो ।

विगतमा मदन भण्डारी र कृष्णप्रसाद भट्टराईबीचको उम्मेदवारीलाई स्वस्थ्य प्रतिस्पर्धा र असल लोकतान्त्रिक अभ्यासका रूपमा लिन सकिने उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “मिलेर लड्नुपर्छ, सबै नेता जित्नुपर्छ अनि लुट्नुपर्छ भन्ने सोच लोकतन्त्र हुनै सक्दैन ।”

प्रतिनिधिसभाको गएको निर्वाचनमा ठूलो दलका उम्मेदवारलाई पराजित गरी आफू विजयी भएको घटनालाई अपवादका रूपमा लिएको बताउँदै उहाँले प्रणाली स्थापित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा प्रस्तुत गर्नुभयो ।

पूर्वमन्त्री साह भन्नुहुन्छ, “प्रतिस्पर्धा, पारदर्शी, जवाफदेहिता र निष्पक्षता भएमा मात्र लोकतन्त्र हुन्छ, त्यो कुनै अहिले हामीले अभ्यास गरिरहेका छैनौँ, भ्रष्टाचार बढेको छ, सुशासन कमजोर छ अनि कसरी लोकतन्त्र हुन्छ, यो केवल दलतन्त्रमात्र हो ।”

निर्वाचन प्रणालीसँगै राज्य व्यवस्था, मूल नेतृत्व र संरचना नै ठीक नभएको बताउँदै उहाँले भन्नुभयो, “जबसम्म राज्यका सबै मेसिनरी ठीक हुन्न, तबसम्म राम्रो परिणाम दिन सकिन्न ।” अहिले दल र नेतामा मात्र सीमित यथास्थितिवादी शाससन व्यवस्था रहेको विचार प्रकट गर्दै अध्यक्ष साहले आफूहरूले जनताको नेतृत्वसहित अग्रगामी र रुपान्तरणकारी शासन व्यवस्था चाहेको भनाइ प्रस्तुत गर्नुभयो ।

मुलुकमा अहिले भइरहेको राज्य सञ्ञ्चालनको अभ्यास र ढाँचाप्रति जनताको आलोचना रहेको बताउँदै पूर्वमन्त्री साहले त्यसैको परिणाम युवा विद्यार्थीको विदेश पलायन भएको टिप्पणी गर्नुभयो । समाजमा रहेको आक्रोश बेलाबखत सदनमा पनि देखिने गरेको घटना सुनाउँदै पूर्वकानुनमन्त्री साहले त्यो मौलाउँदो दण्डहीनता र नेतृत्वप्रति कमजोर विश्वासको नतिजा भएको विचार प्रकट गर्नुभयो ।

हिजोको राज्यव्यवस्था दमनकारी रहेकामा अहिलेको समग्र चरित्र लुटकारी र भगौडा देखिएको आरोप लगाउँदै उहाँले नेपालमा अवसर लिने र सम्पत्ति कमाएर विदेशमा थुपार्ने प्रवृत्ति मौलाउँदो रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “जनतालाई निराश बनाएर देश कहिल्यै बन्दैन, नागरिकलाई उत्साहित तुल्याउनुपर्छ, बदमासीलाई दण्डित गर्नुपर्छ, अनि मात्र मुलुक बन्छ, विकास हुन्छ, समृद्धि ल्याउन सकिन्छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।