गुञ्जिन थाले तिहारका गीत

काठमाडौँ, २२ कात्तिक : उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।

चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ । यादव खरेलले रचना गर्नुभएको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गर्नुभएको छ ।

‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गर्नुभएको छ । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिनुभएको छ । निर्देशक तुलसी घिमिरेले चलचित्रमा तिहारको गीत र प्रसङ्गलाई कथावस्तु अनुसार नै प्रस्तुत गर्नुभएको छ ।

मनिला सोताङले गाउनु भएको चलचित्र ‘अन्याय’ मा समावेश गरिएको ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गर्नुभएको यस गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको छ । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायत कलाकार प्रस्तुत हुनुभएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्ने गरेको छ ।

चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’ लगायतका गीतहरू तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् ।

नेपाली संस्कृतिलाई समेटेर बनाइएका यी गीतहरू अझैँसम्म लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार अर्जुन पोखरेलले बताउनुभयो । “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो”, उहाँले भन्नुभयो, “गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीत बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहार मात्र नभइ दसैँ, होली लगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।”

पोखरेलले विषय र प्रसङ्ग मिलाउनुपर्ने, चाडपर्वमा मात्र गुञ्जिने, लागत खर्च बढी हुनेलगायत कारणले यस्ता गीत नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताउनुभयो । “पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर, सङ्ख्या निकै न्यून छ । पछिल्लो समय बनेका गीतसङ्गीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेका छैनन्”, उहाँले भन्नुभयो ।

पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको गायक तथा सङ्गीतकार कर्णराज गिरीले बताउनुभयो । “नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन्छ । मेरो रोजाइमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन् । नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖