कटहरियाका निलम्बित मेयरद्वारा कार्यबाहक मेयर बनाउन चलखेल सुरू

सञ्जय मिश्रा,रौतहट । पटक-पटक आर्थिक विवादमा पर्दै आएका रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजयप्रकाश जैसवालले महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका छन्। मेयर जैसवाल, उपमेयर रितादेवी यादवसहित ११ जना एकैपटक निलम्बनमा परेपछि अहिले कार्यबाहक मेयर बनाउन चलखेल सुरू भएको छ।

अख्तियारले भ्रष्टाचार मुद्दामा दायर गरेसँगै मेयर जैसवालले कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका हुन्। केही समर्थक नगर कार्यपालिका सदस्यलाई बिहीबार अबेर राति आफ्नै घरमा बोलाएर एक जना महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएको निर्णय गराएका थिए।

घरमै बसेर राति गरिएको उक्त निर्णयपछि मुसहर समुदायकी महिला कार्यपालिका सदस्य शुक्रबार मेयरको कुर्सीमा बस्ने योजना बनाएर कटहरिया नगरपालिकामा आएकी थिइन्। तर, बहुमत नगर कार्यपालिका सदस्यहरूले विरोध गरेपछि गोप्य तरिकाले गरिएको निर्णय नगरपालिकामा दर्ता हुन नसकेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।

वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र साह, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद, ७ का अध्यक्ष महमद सहिद, ९ का अध्यक्ष रुपेश यादवसहित उपस्थित १४ जना कार्यपालिका सदस्यले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको अध्यक्षतामा नगर कार्यपालिका बोर्डको बैठक आह्वान गर्न अनुरोध गरेका थिए।

वडा अध्यक्षहरूको अनुरोधमा उपसचिव प्रधानले शुक्रबार बेलुकी ६ बजे कार्यपालिका बोर्डको बैठक आह्वान गर्दै पत्राचार समेत गरेका थिए। पत्राचारपछि एकजना वडा ६ का अध्यक्ष जयराम चौधरीबाहेक सबै १४ जना नगरपालिकाको सभाहलमा उपस्थित हुँदा प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान बैठकमा अनुपस्थित रहेका थिए।

मेयर जैसवालको दबाबको कारण उपसचिव प्रधान बैठकमा अनुपस्थित भएको वडा अध्यक्षहरूले आरोप लगाएका छन्। बैठकमा आयोजक नै अनुपस्थित हुँदा बनेको अन्यौलको अवस्थामा वडा ४ का अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाको अवस्थाबारे रौतहटका सिडिओ हिरालाल रेग्मीलाई फोन गरेर जानकारी गराएका थिए।

निर्वाचित भएदेखि नै विभिन्न आर्थिक विवादमा पर्दै आएका मेयर जैसवाल निलम्बित भएपछि महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर विकास बजेट अनियमितता गर्ने दाउमा रहेको वडा अध्यक्षहरूको भनाइ छ।

उपसचिव प्रधानले मेयर-उपमेयर निलम्बित भएको अवस्थामा नियमले जे भन्छ त्यही कार्यान्वयन हुने बताए। उनले कसैको दबाब प्रभावमा नपर्ने प्रतिवद्धता जनाए।

उता मेयर जैसवालले नियम अनुसार कार्यबाहक मेयर बनाउन कार्यपालिकासँग स्वयम् अधिकार रहेको बताउँदै लागेको आरोपको खण्डन गरेका छन्। सिडिओ हिरालाल रेग्मीले कटहरिया नगरपालिकाको हकमा के हुने भन्नेबारे संघीय मामिला मन्त्रालयबाट हालसम्म कुनै निर्देशन नआएको बताउँदै नियमानुसार कार्यबाहक मेयर बनाइनु पर्ने बताए।

कटहरीया नगरपालिकाका मेयर र उपमेयरसमेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोगा अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बित भएका थिए।

कटहरिया-२ मा जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएकामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह छन्।

सो योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय माग दाबी गरिएको छ।

नेपाली कांग्रेस पार्टीबाट निर्वाचित निलम्बित मेयर जैसवाल भ्रष्टाचारमा लिप्त भएपछि सोही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू खुलेरै बिरोधमा उत्रिएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।