पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा ‘नो केबलकार समूह’द्वारा रुख ढालेर सडक अवरोध
पांचथर । पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा ‘नो केबलकार समूह’ले केबलकार निर्माणको विरोधस्वरूप मंगलबार राति रुख ढालेर सडक अवरोध गरेका छन्।
यसका कारण हिलिहाङ–२, सिंहापुरबाट सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीया कल्पना जोगी सहितका बिरामी समस्यामा परे। राति २ बजे बिरामी लिएर आउँदै गरेका एम्बुलेन्स चालक नुपु शेर्पाले बाटो अवरुद्ध भएपछि बिहानसम्म रोकिएर बस्नुपरेको बताए। उनले बिरामी चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
चारवटा रुख ढालेर अवरोध गरिएकाले सुत्केरी व्यथाले छटपटिएकी कल्पना जोगीलाई गोपेटार फर्काइएको थियो। स्वास्थ्यकर्मीहरूका अनुसार, अवस्था जटिल भएकाले बिहानसम्म पनि प्रसूति गराउन सकिएको थिएन।
यसैबीच, ‘नो केबलकार समूह’ले माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको छ। समूहले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको आह्वान गरेको छ। प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ, जसपछि बिरामीलाई पुनः फिदिम ल्याइने तयारी भइरहेको छ।


