धनकुटा जिल्ला अस्पतालबाट डाईलोसिस लगायत थप स्वास्थ्य सेवा प्रदान गरिने
धनकुटा । धनकुटा जिल्ला अस्पतालबाट डाईलोसिस सेवा,शल्यक्रिया सेवा लगायत अन्य महत्वपूर्ण थप स्वास्थ्य सेवाहरु प्रदान गर्ने जिल्ला अस्पताल व्यवस्थापन समितीको बैठकले निर्णय गरेको छ ।
जिल्ला समन्वय समिती धनकुटाका प्रमुख तथा धनकुटा जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष निरेन तामाङको अध्यक्षतमा सम्पन्न बैठकमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले धनकुटा जिल्ला अस्पतालबाट थप सेवा विस्तार गर्न र गुणस्तरीय सेवा प्रदान गर्न धनकुटा नगरपालिकाले सहयोग गर्ने वताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी टुपराज पोखरेलले धनकुटा जिल्ला अस्पतालमा उपलब्ध साधन स्रोतलाई अत्यधिक प्रयोग गरी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सबैैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । धनकुटा नगरपालिक वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठले स्थानीय तह, सामाजिक संघ संस्था र नागरिकहरुले धनकुटा अस्पतालको थप सेवा विस्तार गर्न सहयोग गर्ने वताउनु भयो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा अस्पतालबाट पूर्वी पहाड जिल्लाकै नमुनाको रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो । बैठकमा धनकुटा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.सन्तोष राईले धनकुटा अस्पतालको थप सेवा विस्तार र अवस्थाको वारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो । डा. अमित शाहले धनकुटा अस्पतालबाट अहिले भैरहेको सेवाको वारेमा जानकारी दिनु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाका सभापती छत्र श्रेष्ठ(कृष्ण) ले रक्त संचार सेवा वारे जानकारी गराउनु भएको थियो । बैठकमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरी,धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्यहरु अम्विका धमला,श्रीराम रायमाझी,धनकुटा जिल्ला समन्वय समितिका खगेन्द्र चौलागाई,धनकुटा जिल्ला अस्पतालका नर्श शिला राई लगायतले समेत धनकुटा अस्पतालबाट थप सेवा विस्तार गर्ने विषयमा आ आफ्नो धारणा राखेका थिए ।
धनकुटा अस्पतालबाट केही महिना पछिबाट डाईलासिस,शल्यक्रिया सेवा लगायत अत्यावाश्यक स्वास्थ्य सेवाहरु प्रभवाकारी रुपमा विस्तार गरी सेवा प्रदान गर्ने निर्णय भएको अस्पताल श्रोतले जनाएको छ । बैठकमा कोशी प्रदेश सरकारबाट समितीका सदस्यमा नियक्ती भएका धमला र रायमाझीलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तामाङ, मेडिकल सुपेरिटेन्डेन्ट डा. राई लगायतले स्वागत गर्दै कार्यकाल पुरा गरी विदाई हुनु भएका सदस्य समाजसेवी गोविन्द निरौलालाई बिदाई गरेका थिए ।


