उसले मलाई भन्थ्यो – कान्छी बुढी!

कथा

कुसुम थापा । प्रेम शब्द निकै अनौठो रहेछ। कहिले नसोचेको, कहिले नदेखेको मान्छे पनि आफ्नो प्राणभन्दा प्यारो हुने रै’छ। कति मान्छे त्यही प्रेममा परेर मरेका छन्, कोही प्रेम पाउन दिनरात मन्त्र जप्छन्। कोही प्रेम पाएर पागल हुन्छन्, कोही प्रेम नपाएर पागल हुन्छन्। म प्रेममा डुबेर पागल भएँ।

खै! कसरी परें म प्रेममा? पहिलो नजर, पहिलो भेटमै प्रेम? अचम्म लाग्छ आज आफूले आफैंलाई देखेर। ऊ मेरो पहिलो प्रेम त हैन तर आजको दिनसम्म मैले उसलाई भुल्न पनि सकेको छैन। यति यादगार र न्यानो छ कि, जब राति सुत्ने बेला म आँखा चिम्लन्छु, उसको मुहार मेरो आँखा अघि झलल आउँछ। त्यो दिन, त्यो समय अनि उसको त्यो मुहार सम्झँदा एक मन खुसी, एक मन रुन मन लाग्छ।

वास्तवमा, उसको र मेरो भेट सामान्य थियो। मैले उसलाई प्रहरीको तालिममा भेटेको हो। पहिलो भेटमै म ऊ प्रति आकर्षित भएकी थिएँ। उसले पनि म प्रति माया देखाउँथ्यो। छोटो समयमै उसमा म पूर्ण रुपमा डुबिसकेकी थिएँ। उसले पनि मलाई आफ्नो मान्छेझैं हक जमाउँथ्यो, यसैमा म खुसी थिएँ।

दिन बित्यो, रात बित्यो बल्ल त्यो दिन आयो, जुन दिन उसले मलाई पूर्ण रुपमा आफ्नो बनाउनका लागि प्रेम प्रस्ताव राख्यो। म खुसीले गद्गद् भएँ, मेरो खुसीको सीमा नै रहेन। कति दिनको लामो पर्खाइपछि आज बल्ल मन शान्ति भयो।

दोहोरो कुरा केही नसोची मैले उनको प्रेम प्रस्ताव स्वीकार गरें। मायाले बाँधेको हाम्रो सम्बन्ध निकै स्वस्थ रुपमा अघि बढ्यो। उसले मलाई कान्छी बुढी भन्थ्यो। मैले पनि उसै भनेको होला भनी खुसी हुन्थें। उसले मलाई आफ्नो काम छाडेर लुकी-लुकी भेट्न आउँथ्यो। म पनि ऊ कहिले आउँछ भनी पर्खिरहन्थें। हाम्रो प्रेमको चर्चा पूरै चौकी साथीभाइमा थियो। साथीसँग कुरा गर्दा पनि उसको नाम आएमा मेरो मुहार निकै उज्यालो र हर्षित देखिन्थ्यो।

यसरी नै हाम्रो प्रेम सम्बन्ध सुरू भएको दुई महिना भयो र हाम्रो तालिम सकिएर आ-आफ्ना घरमा फर्किसकेका थियौं। अब उसको र मेरो भेट कम हुन थाल्यो र कुराकानी म्यासेजमै सीमित रह्यो। जतिसुकै झगडा भए तापनि म ऊ सँग खुसी थिएँ र ऊ पनि। तर. त्यो खुसी धेरै सम्म रहेन।

एक बिहान अचानक उसले मलाई केही म्यासेज गरेन। मैले गरेको म्यासेज, कलको पनि केही जवाफ आएन। लगातार सम्पर्क गर्न खोज्दा पनि केही सिप लागेन। बल्लतल्ल उठेको फोनबाट पनि रुखो स्वरमा बिरामी छु, सुत्छु भनी फोन काटियो। त्यही कुराले मनमा चिसो झस्को पस्यो। त्यो दिन मेरो मन निकै निराश थियो। दिउँसोभरि उसको कुरा मेरो मनमा खेलिरहेको थियो।

करिब ५ बजेतिर उनको मलाई कल आयो र भेट्नको लागि बोलायो। म केही नसोची उनलाई भेट्न गएँ। उसले दोहोर्‍याएर कुरा केही गरेन। मैले नि उसलाई केही प्रश्न गरिनँ। हामी चिया खान चिया घर गयौं। त्यहाँ बस्दा पनि उसले कुराहरू केही नभनी चुपचाप बस्यो। केही समयपछि उसले मलाई घरभन्दा अलि तलतिर पुर्‍याइदियो। म आफ्नो घर गएँ र ऊ आफ्नो घरतर्फ लाग्यो।

घर पुग्दा मलाई एक युवतीको म्यासेज आएको रहेछ। ब्लक पनि गरेको रहेछ। अरू समयमा त यस्तो म्यासेजको खासै मतलब लाग्दैन थियो। तर, त्यहाँ मेरो प्रेमको नाम रहेकाले मनमा नानाथरीको प्रश्नहरू आउन थाल्यो। मैले मेरो साथीलाई त्यस्ती युवतीले यसरी म्यासेज गरेको रहेछ भनेर भनें र उसले आफ्नै प्रोफाइलबाट उक्त महिलालाई म्यासेज गर्न लगायो। त्यसपछि मेरो साथीको म्यासेजको कुरी बस्न थालें।

केही समयपछि मलाई मेरो साथीले म्यासेज पठाए – उक्त म्यासेज हेरेपछि म अक्कबक्क भएँ।

मन चिसो भयो। आँखाबाट बरर… आँसुको थोपा खस्यो। जसलाई मैले आफूभन्दा बेसी माया गरें, जोसँग मैले आफ्नो भविष्य साचेको थिएँ। ऊ त पहिले नै विवाहित रहेछ।

अघि म्यासेज गर्ने युवती उसको श्रीमती रहिछन्, जसको पेटमा पाँच महिनाको बच्चा पनि थियो। त्यस्तो म्यासेज देख्नासाथ मैले आँखा चिम्म गरें। त्यसैत्यसै निस्सासिएर सास फेर्न गाह्रो भयो। मन भारी भयो।

तर. भर्खरै म उसलाई भेटेर मात्र घर भित्र पसेकी थिएँ, फेरि उसलाई भेट्न मन लाग्यो। त्यो कुरा मैले एक प्रतिशत पनि पत्याउन सकिरहेकी थिइनँ। उसको मुहारलाई सम्झँदा आफूलाई डर लागेर आउन थाल्यो। त्यो रात उसले एकपल्ट पनि सम्पर्क गरेन। मलाई पनि उसलाई कल गर्न आँट आएन। मनमा अनेक कुराहरू अलमल्ल परिरहेको थियो। त्यो रात पछि उनले मलाई ३-४ दिनसम्म एकचोटि पनि कल गरेन।

केही दिनपछि उनले मलाई फेरि भेट्न बोलायो र हामी भागी जाऔं भन्न थाल्यो। एउटा गर्भवती श्रीमतीलाई छाडेर कसरी जाने सोचेको होला, अझै थाहा छैन। ज्यान सिरिङ्ग भएर आउँछ। तर, त्यसबेला मेरो आँखा बन्द भएको थियो। मनमा दोहोरो कुरा चलिरहेको थियो। मनमनै सोच्थें- यदि उनीहरू खुसी छैनन् भने उनीहरू छुटेको राम्रो लाग्थ्यो। यदि ऊ मलाई लिन आयो भने जान्छु भनी बसें। उसले मलाई बेला-बेला म्यासेज गर्थ्यो। मुखले ‘तँ सँग जान सक्दिनँ’ भने तापनि मन भने ऊ तिरै थियो।

निकै लामो समयपछि अचानक एक दिन फेरि उसको र मेरो भेट भयो, जुन हामीले योजना गरेर भेट भएको थिएन। उसले मलाई घुम्न जाम भन्यो र हामी नालागुम्बा गुम्न गयौं। त्यहाँ घुम्दा मैले आफ्नो दुःख र उसले दिएको धोकाबारे भने। उसले मेरो कुरा सुनेर अँध्यारो अनुहार बनाउँदै पहिला नै मैले तिमीलाई भेटेको भए आज यस्तो हुने थिएन भन्यो। अहिले पनि म तिमीलाई त्यति नै माया गर्छु, जाम न म सँग भन्यो। त्यो कुरा सुनेपछि मलाई फेरि ऊप्रति झन् माया लागेर आयो।

तर, मैले ऊ सँग जाने हिम्मत गर्न सकिनँ। दिउँसोको ४ बजेतिर उसले मलाई मेरो घरसम्म पुर्‍याइदियो र ऊ फर्कियो। म त्यही मान्छेसँग घर आएको दिदीले देखेकी रहिछ। दिदीले मलाई घर छिर्नेवित्तिकै गालामा एक झापड हानी र बेस्सरी गाली गरी।

‘अब उप्रान्त ऊ सँग भेटेको, बोलेको थाहा पाएमा बाबालाई भन्दिन्छु’ भन्दै मलाई राम्ररी सम्झाई बुझाई गरी। मैले पनि त्यो कुरालाई धेरै सोचेँ। आफ्नो गर्भवती श्रीमतीलाई छाडेर जान सक्ने मान्छेले मलाई छोड्न पनि के बेर लगाउँछ होला र भन्नेजस्तो लाग्यो। मनभरि उसको लागि रहेको त्यो माया मैले त्यहीँ त्याग गरिदिएँ।

त्यसपछि हाम्रो बोलचाल र भेटघाट कहिल्यै भएन। आज पनि जब म विगतका दिनहरूलाई सम्झन्छु, मेरो आँखा पूर्ण रूपमा भरिएर आउँछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।