बिर्तामोडको सहकारी पसलमा चोरले सटर खोलेर गर्यो चोरी, घटना सिसिटिभीमा कैद
झापा । बिर्तामोडस्थित विराट अर्जुन सहकारी संस्थाले सञ्चालन गरेको सहकारी पसलमा दिउँसै चोरी भएको छ। चोरले सटर आफैँ खोलेर पसलभित्र प्रवेश गरेको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।
प्राप्त जानकारीअनुसार, सहकारी सञ्चालक समितिको बैठक चलिरहेको समयमा पसलभित्र चोरी भएको हो। चोरले योजना बनाएर पसलमा प्रवेश गरेको अनुमान गरिएको छ। चोरी गर्ने तरिका हेर्दा चोर यसअघि पनि यस्तै गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ।
सिसिटिभी फुटेजमा चोरले सटर खोलेर पसलभित्र छिर्दै गरेको देख्न सकिन्छ। चोरीका क्रममा के कति धनमाल गुमेको छ भन्ने विवरण सार्वजनिक गरिएको छैन। स्थानीय प्रहरीलाई घटनाबारे जानकारी गराइसकिएको छ भने अनुसन्धान अघि बढाइएको छ।


