वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

सञ्जय मिश्रा/वीरगन्ज -वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात )
लकवा)को उपचार सुरू भएको छ।

अस्पतालका प्रमुख श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन्। यस प्रविधिबाट उपचार हुनु मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि  ठूलो उपलब्धी भएको उनले दाबी गरे। 

प्रसादले वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा हालसम्म तीन जना बिरामीलाई थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार गरिसकेको स्पष्ट पारे।  

यसअघि थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार वीरगन्जमा नभएको बताउँदै चिकित्सा क्षेत्रका लागि एउटा ठूलो कदम भएको उनको भनाइ छ।

थ्रोम्बोलाइसिस एउटा यस्तो चिकित्सा प्रविधि हो, जसमा मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको डल्लो (मस्तिष्कमा जमेको रगत) हटाउन अथवा पगाल्न औषधी प्रयोग गरिन्छ।

थ्रोम्बोलाइसिस इस्केमिक स्ट्रोकको उपचारका लागि अति नै प्रभावकारी मानिन्छ। मस्तिष्कमा रगत पुर्‍याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गरेको उनले बताएका छन्।

प्रसादले थ्रोम्बोलाइसिस उपचारका लागि बिरामीले लक्षण देखिएको साढे चार घण्टाभित्र अस्पताल पुग्नुपर्ने बताएका छन्। स्ट्रोकका लक्षणहरू जस्तै अचानक कमजोरी, बोल्न गाह्रो हुने वा अनुहार बाङ्गिनेजस्तो लक्षण देखिएमा तुरुन्त अस्पतालमा आउन उनले आग्रह गरेका छन्।

अन्य प्रविधिबाट उपचारको तुलनामा थ्रोम्बोलाइसिस विधि छिटो र सस्तो भएकाले उनले बताए। ‘हामीले उन्नत उपचारलाई सिंगो प्रदेशका बिरामीका लागि सस्तो र पहुँचयोग्य बनाउन खोजेका छौं,’ डाक्टर प्रसादले भने।

उनले थ्रोम्बोलाइसिस प्रक्रियाबारे विस्तृत जानकारी दिँदै उपचारमा रगतको डल्लो हटाउने,पगाल्ने औषधी अल्टेप्लेस वा अन्य विकल्पहरू बिरामीको रगतमा इन्जेक्सनमार्फत दिइने बताए। थ्रोम्बोलाइसिस प्रक्रियाबाट बिरामीको उपचार गर्नुपूर्व विभिन्न जाँचहरू आवश्यक रहेको समेत जानकारी दिए।

उनले उपचारको सम्भावित जोखिमहरूबारे पनि चर्चा गर्दै यसमा विशेष गरी मस्तिष्कमा रक्तस्राव हुने खतरा हुन सक्ने उनले बताएका थिए।

साथै, हेमोरेजिक स्ट्रोक (रक्तस्रावबाट हुने स्ट्रोक), हालै शल्यक्रिया गरेका बिरामी वा रक्तस्रावको जोखिम बढाउने औषधी खाइरहेका बिरामीहरूका लागि थ्रोम्बोलाइसिस उपचार उपयुक्त नहुने उनले बताए। ‘बिरामीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने।

थ्रोम्बोलाइसिस प्रविधिबाट उपचार नेपाल सरकारबाट स्वीकृत भएको र विश्वव स्वास्थ्य सङ्गठनले समेत मान्यता दिएको उनले जानकारी गराएका थिए। बजारमा उपलब्ध अन्य थ्रोम्बोलाइटिक औषधीहरूको विकल्प पनि रहेको उनले उल्लेख गरेका थिए।

वीरगन्जमा थ्रोम्बोलाइसिसको सुरुवातलाई यहाँको स्वास्थ्य क्षेत्रमा एउटा कोसेढुंगा मानिएको छ। इस्केमिक स्ट्रोक उपचारका लागि बिरामीहरूलाई अब राजधानी काठमाडौं अथवा भारतका ठूला सहर जानुपर्ने बाध्यता अन्त्य भएको प्रसादले दाबी गरेका थिए।

तीन जना बिरामीको सफल उपचारबाट सुरुवात भएको बताउँदैअस्पतालको क्षमता विस्तार र थप कर्मचारीलाई तालिम दिने प्रसादले प्रतिबद्धता व्यक्त गरे। स्ट्रोक उपचारलाई अझ सुधार गर्न अन्तर्राष्ट्रिय चिकित्सा संस्थाहरूसँग सहकार्य गर्ने प्रयास जारी रहेको उनले जानकारी दिए।

इस्केमिक स्ट्रोक ( लकवा )के हो?

इस्केमिक स्ट्रोक एक प्रकारको पक्षाघात/लकवा। मस्तिष्कमा रक्त प्रवाह अवरुद्ध भएर इस्केमिक स्ट्रोक हुन्छ। यो प्रायः रक्त नलीमा रगतको डल्लो बनेर वा कुनै अवरोधले गर्दा उत्पन्न हुन्छ, जसले मस्तिष्कको कुनै भागमा अक्सिजन र पोषण पुग्नबाट रोक्छ।

अक्सिजनको कमीले मस्तिष्कका कोशिकाहरू छिट्टै मर्न थाल्छन्, जसले समयमै उपचार नभएमा स्थायी क्षति वा मृत्युसम्म निम्त्याउन सक्छ। 

इस्केमिक स्ट्रोकका मुख्य कारणहरूमा मस्तिष्कको रक्त नलीमा डल्लो बन्नु (थ्रोम्बोसिस), शरीरको अन्य भागबाट डल्लो मस्तिष्कमा पुग्नु (एम्बोलिज्म), वा कोलेस्ट्रोल जमेर रक्त नली साँघुरिनु (एथेरोस्क्लेरोसिस) समावेश छन्।

यसका लक्षणहरूमा शरीरको एक भाग कमजोर हुनु वा पक्षाघात, बोल्न र बुझ्न गाह्रो हुनु, दृष्टिमा समस्या, टाउको दुख्नु, चक्कर लाग्नु र हिँड्न कठिनाइ हुन्छ।

इस्केमिक स्ट्रोकको उपचारका लागि रगत पातलो बनाउने वा डल्लो हटाउने औषधी वा शल्यक्रियामार्फत् अवरोध हटाउने प्रक्रिया अपनाइन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।