बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।मंगलबार प्रदेश सभा बैठकमा बानियाँको विश्वासको मतको प्रस्तावको पक्षमा ६३ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो ।त्यस्तै ७ सांसद तटस्थ बसेका थिए ।
११० सदस्यीय बागमती प्रदेशमा मतदान प्रक्रियामा ९२ सांसद सहभागी भएका थिए ।कांग्रेसमा आन्तरिक विवाद भएपनि अन्तिम समयमा बहादुरसिंह लामा पक्षले विश्वासको मत दिने भएपछि आजको प्रदेश सभाको बैठक शुरु भएको थियो ।यसअघि बहादुरसिंह लामाले आफुले पछिल्लो समय मन्त्री बनाएका तीन जनालाई निरन्तरता दिने सर्तमा राजीनामा दिएको भएपनि अहिले बानियाँले सो सहमति पालना नगरेसम्म विश्वासको मत नदिने अडान लिएका थिए ।
११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।


