मोरङको सुनवर्षीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ कासीजामस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट बिहीबार राति साइकल यात्रीको मृत्यु भएको छ ।
गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति ८ः१५ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ८ः४५ बजेतिर मृत घोषणा गरेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डल घाइते भएका छन् ।
मध्यम अवस्थाका उनलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको जानकारी न्यौपानेले दिए । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।


