सोलुखुम्बुको दुधकोशीमा गोठ जल्दा एक लाखको क्षति
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–३ खास्तापमा आगलागी भएको छ । आइतवार बिहान करिब ७ः३० बजे स्थानीय नल बहादुर राईको बस्तु बाँध्ने गोठमा आगलागी भएको हो ।
आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बासाबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। प्रहरी तथा स्थानीयवासीहरूको सक्रिय सहयोगमा आगलागी समयमै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिनुभएको छ।
आगलागीबाट गोठमा बाँधिएको एक वटा पाँडो जलेर घाइते भएको छ । साथै गोठभित्र रहेका सोलार प्यानल एक थान, १२ भोल्टको ब्याट्री एक थान, नगद १२ हजार रुपैयाँ र विभिन्न भाँडाकुँडा जलेर नष्ट हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। खोले पकाउने क्रममा निस्किएको आगो नियन्त्रण बाहिर गई गोठमा फैलिँदा आगलागी भएको जनाइएको छ । स्थानीयवासीलाई आगो प्रयोग गर्दा विशेष सतर्कता अपनाउन तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ।-सोलु एफएम


