इलाममा ‘नो पार्किङ’ कडाइ, अटेर गरे सवारीमा ह्वील लक
इलाम । ट्राफिक व्यवस्थापन समिति इलामको आयोजनामा तथा इलाम नगरपालिका र सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको समन्वय तथा सहयोगमा मिति २०८२/१०/१३ गतेदेखि ‘नो पार्किङ’ क्षेत्रको कडाइका साथ कार्यान्वयन सुरु गरिएको छ।
निर्णयअनुसार रोक्न निषेध गरिएको स्थान तथा फुटपाथ क्षेत्रमा अटेर गरी पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक लगाउने कार्यको सुरुवात गरिएको छ। यस सम्बन्धमा ट्राफिक व्यवस्थापन समितिले सबै सरकारी तथा निजी सवारी साधन धनीलाई तोकिएका वा उचित पार्किङ स्थलमै सवारी व्यवस्थापन गर्न आग्रह गरेको छ।
फुटपाथ क्षेत्र पैदलयात्रीका लागि सुरक्षित बनाउने उद्देश्यले त्यस्ता स्थानमा सवारी साधन नराख्न नगरप्रहरी मार्फत सचेतनामूलक बोर्डहरू राख्ने तथा व्यवस्थापन सम्बन्धी कार्यहरू समेत अगाडि बढाइएको जनाइएको छ।
समितिले नियम उल्लङ्घन नगर्न तथा शहरलाई व्यवस्थित र सुरक्षित बनाउन सबैको सहकार्य आवश्यक रहेको भन्दै पुनः सबैमा सहयोगका लागि अनुरोध गरेको छ।- पालिकापेज


