सहिद भीमनारायण गोल्ड कप : आयोजक टीम सेमिफाइनलमा
धनकुटा । सहिद भीमनारायण स्मृति प्रतिष्ठान ले पाहुना टोलीलाई पराजित गर्दै धनकुटामा जारी १८औँ सहिद भीमनारायण स्मृति एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्ड कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेल मा हिजो सम्पन्न खेलमा आयोजक टोलीले भारतको जर्जियन फुटबल क्लब कालिम्पोङ लाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको १६औँ मिनेटमा पाहुना टोलीका कुञ्जमान थापाले गोल गर्दै कालिम्पोङलाई अग्रता दिलाएका थिए । त्यसपछि घरेलु टोलीका प्रतिस मगरले ३४औँ मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा आयोजक टोलीले आक्रामक खेल प्रदर्शन गर्दै ५६औँ मिनेटमा विपिन जगेबुले गरेको गोलमार्फत निर्णायक अग्रता बनायो । खेलको अन्त्यतिर रेफ्रीसँग असन्तुष्टि जनाउँदै धकेलेपछि कालिम्पोङका प्रवेश रोए रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका प्रशान्त भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित सम्मान प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बुधबार सातदोबाटो फुटबल क्लब, ललितपुर र बेलबारी फुटबल क्लब, मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जेठ १० गतेदेखि सुरु भएको प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछ । साथै प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद ६ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


