सहयोगापेक्षीको अवस्था र आवश्यकता बुझ्न कार्यवाहक प्रमुख डंगोल आफैँ उद्धारमा

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरुको अवस्था र आवश्यकता वुझ्न जेठ २३ गते कार्यवाहक प्रमुख सुनिता डंगोल आफैँ उद्धार कार्यमा निस्किइन्। 

उनको साथमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन, वडा सदस्यहरु, महानगरपालिकाका निर्देशक वसन्त आचार्य, नेपाल प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलका अधिकारी, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, आनी छोइङ् डोल्मा फाउन्डेसका अध्यक्ष आनी डोल्मा छोइङ् थिए। उद्धारसँगै दिनमा भेटिने सहयोगापेक्षी र रातमा सडकमै बास बस्ने व्यक्तिहरुको प्रकृति आफैँ महसुस गर्नु यस दिनको उद्देश्य थियो। हिजोआज हरेक दिन विहान, दिउँसो र साँझको समयमा सडक सेवा अन्तर्गत सडकमा माग्न बसेका व्यक्तिहरुलाई उद्धार गरेर स्क्रीनिङ् सेन्टरमा लैजाने गरिएको छ। 

शनिबार बेलुका कालीमाटी र स्वयम्भूको कारखाना चोक क्षेत्रमा भेटिएका सहयोगापेक्षीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले, उनीहरु सडकमा पुग्नु पर्ने अवस्थाका विषयमा कुराकानी गरेकी थिइन्। 

यसरी गरिएको कुराकानीपछि उनले भनिन्, ‘व्यक्ति सडकमा आउनु पर्ने बाध्यतासँग पारिवारिक, सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक कारण छन्। तर, सडकमा माग्न भेटिने गर्नुभएका सबै व्यक्ति सहयोगापेक्षी हुनुहुन्न। कतिपय व्यक्तिले माग्ने कामलाई पेशा बनाउनुभएको छ। अहिले हामी सहयोगको आवश्यकता हुने वास्तविक व्यक्ति र पेशेवर माग्ने व्यक्ति छुट््याउँदैछौँ।’

यसरी छुट््याएपछि के गर्ने योजना हो? प्रश्नको जवाफमा डंगोलले भनिन्, ‘जसले आफ्नो हेरचाह आफैँ गर्न सक्नुहुन्न। हेरचाह र स्याहारका लागि आफन्त पनि हुनुहुन्न। खानका लागि अन्नपात छैन। अन्न किन्ने पैसा छैन। विरामी पर्दा उपचार गर्ने पैसा छैन। त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गर्नेछ। जसले माग्ने कामलाई पेशा बनाउनु भएको छ। उहाँहरुको मागेर खाने कामलाई पूर्ण निषेध गरिनेछ।’ 

सहयोग नचाहिने तर माग्ने व्यक्तिहरुको व्यवस्थापनका विषयमा कुरा गर्दै उनले, उनीहरुलाइ सिप सिकेर उद्यमी बन्न प्रोत्साहित गरिने, आवश्यकताका आधारमा महानगरपालिका आफैँले सिपमूलक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन्।

उद्धारका क्रममा वडा नं. १५ स्वयम्भूको कारखाना चोकबाट १२ जनालाई उद्धार गरिएको छ। मानव सेवा आश्रमका केन्द्रीय सदस्य कृष्ण पौडेलका अनुसार २ जना महिला, ८ जना पुरुष र २ जना बालकलाई उद्धार गरिएको हो। 

यसरी उद्धार गरिएका व्यक्तिहरुमा मकवानपुर ठेगाना भएका ६५ वर्षकी काली तामाङ्, ओखलढुङ्गा सिञ्चोक गाउँपालिका घर भएकी २८ वर्षकी योगिता स्याङ्तान र ६० वर्षका कुर्मीमान स्याङतान, धादिङ गाउँपालिका घर भएका ४८ वर्षका कान्छा तामाङ छन्। 

यस्तै वुटवल देवनगर ठेगाना भएका २८ वर्षका इन्द्र कुवाँबोटिया, भारतको उत्तरखण्ड भेउनाका १७ वर्षका विकास चौधरी, सल्यान कपुरघाट गाउँपालिकाका २८ वर्षका दूर्गा वोहोरा, धादिङ्को मञ्जमजुवा गाउँपालिकाका ६२ वर्षका कुर्मी तामाङ्, हेटौँडा सातमोडेका ४६ वर्षका शिव क्षेत्री र धादिङ गजुरीका ५५ वर्षका रमाबहादुर गुरुङ छन्। बालकहरुमा शाही थरका १३ वर्षका र भुजेल थरका १५ वर्षका बालक छन्।  

उद्धारपछि उहाँहरुलाई हिजै बेलुका स्क्रीनिङ सेन्टर तिलगंगा लगिएको थियो। उहाँहरुमध्ये ३ जनाका परिवार सम्पर्कमा आएपछि आज उहाँहरुको परिवारसँग पुनर्मिलन भएको छ। 

महानगरपालिकाले २०७४ साल मंसिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक सहयोगापेक्षी मानव व्यवस्थापनको काम थालेको हो। त्यस यता २०८३ साल जेठ २१ गते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ। जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला छन्। 

उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना हुनुहुन्छ। ६ बर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका हुनुहुन्छ। १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क हुनुहुन्छ। ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना हुनुहुन्छ। ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना हुनुहुन्छ। 

उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ। 

उद्धारपछि आश्रममा रहेकै बेला १०१ जना महिला र २२२ जना पुरुषको निधन भएको छ। अहिले मानव सेवा आश्रममा २०७ जना पुरुष, १३७ जना महिला गरी ३४४ जना आश्रित हुनुहुन्छ। 

मठ मन्दिर, देवल, पाटी, गुम्बा, चैत्य, चोक, गल्ली, पार्क सडक पेटी, आकाशे पुल जस्ता मानिसहरु भीड हुने तथा बाक्लो आवतजावत हुने स्थानमा विरामी भएको जस्तो गरेर बस्ने र माग्ने काम निषेध गर्ने उद्देश्यले त्यस्ता व्यक्तिहरुलाई उद्धार गरेर अवस्था पहिचान गर्न तिलगंगा क्षेत्रमा महानगरपालिकाले स्क्रीनिङ् सेन्टर सञ्चालन गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।