समसामयिक राजनीतिबारे छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल गर्न उनले बैठक बोलाएका हुन्।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ।
बैठकमा संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको छ। छलफलमा सहभागी हुनका लागि प्रत्येक दलका अध्यक्ष वा सभापतिसहित दुई जना नेताहरूलाई आमन्त्रण गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
पछिल्लो समय सत्ता समीकरण र बदलिँदो राजनीतिक परिदृश्यका बीच रास्वपा सभापति लामिछानेले बोलाएको यस सर्वदलीय बैठकलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।


