सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको सरकारसँग माग
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको माग यथावत रहेको उल्लेख गरे। साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
सांसद साम्पाङले संसदको ‘सेकेन्ड लट’ सुरु गर्ने समय भइसकेको भन्दै सरकारको ध्यान सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यातर्फ केन्द्रित हुनुपर्ने बताए ।
उनका अनुसार प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासी बस्तीमा डोजर चलाइँदा नागरिकहरू बेघर बनेका छन् र अहिले उनीहरू काठमाडौँको कृतिपुरलगायतका स्थानमा रहेका होल्डिङ सेन्टरमा बस्न बाध्य छन्, जहाँ आधारभूत सुविधा समेत अभाव रहेको छ।
साम्पाङले ती व्यक्तिहरू नेपाली नागरिक भएकाले उनीहरूको खाना, पानी र अन्य आधारभूत आवश्यकताको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने माग गरे।


