भारतबाट कारभित्र लुकाएर काठमाडौं ल्याइएको ३२९ ग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ
काठमाडौं, असार २८ । भारतको जोगवनीबाट निजी गाडीमार्फत काठमाडौं ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं उपत्यकामा खैरो हेरोइन बिक्री–वितरणमा संलग्न समूहबारे सूचना संकलन तथा विश्लेषण गर्ने क्रममा पहिलो चरणमा धादिङ धुनिबेँसी नगरपालिका–९ का ३८ वर्षीय अनिल श्रेष्ठलाई असार २५ गते ललितपुर महानगरपालिका–२९, हरिसिद्धिबाट २९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो।
अनिल श्रेष्ठमाथि गरिएको थप अनुसन्धानका क्रममा भारतको जोगवनी–फारबिसगञ्ज क्षेत्रबाट विराटनगर हुँदै निजी गाडीमा काठमाडौंसम्म खैरो हेरोइन ल्याउने मोरङ कटहरी गाउँपालिका–४ का ३५ वर्षीय जाबेद आलम र सप्तरी खडक नगरपालिका–७ का ३४ वर्षीय विकास भगतलाई असार २७ गते ललितपुरको हरिसिद्धिबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन, लागुऔषध तौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजु तथा लागुऔषध ओसारपसारमा प्रयोग गरिएको बा १७ च ८३७ नम्बरको ब्रेजा (Breeza) गाडी बरामद गरिएको प्रहरीले जनाएको छ।
यसअघि बरामद भएको २९ ग्रामसहित कुल ३२९ ग्राम खैरो हेरोइन, नगद ३० हजार रुपैयाँ, चार थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।


