सुनसरीमा ब्राउन सुगर सहित दुई जना पक्राउ, १०७.४५ ग्राम लागूऔषध बरामद
सुनसरी, असार २९ । सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७.४५ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार राति करिब ८ बजे लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्धिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँ रहेका छन्।
प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने १०७.४५ ग्राम पदार्थ बरामद गरेको जनाएको छ।
दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


