पहिरोले टहरा पुरिँदा एक महिलाको मृत्यु, दुई जनाको सकुशल उद्धार
जाजरकोट, असार २९ । अविरल वर्षाका कारण जाजरकोटमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गते परेको निरन्तर वर्षापछि भेरी नगरपालिका–२ राङ्सीमा माथिबाट आएको पहिरोले जयशीला शाहको अस्थायी टहरा पुरिएको थियो।
पहिरोमा परी करिब ६० वर्षीया जयशीला शाह को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा उनकी करिब ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टिका थापा लाई भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे आवश्यक प्रक्रिया पूरा गरी थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।


