पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु
कालिकोट — कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पानीघट्टमाथिबाट आएको पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ निवासी अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन्। उनीहरू आइतबार बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका बेला माथिबाट आएको पहिरोले घट्ट पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर पहिरोमा पुरिएका दुवै जनाको उद्धार गरेको थियो। उद्धारका क्रममा उनीहरूको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण पानीघट्टको आधा भागसमेत पुरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


