विद्युत वितरण केन्द्र धरानको गाडी इटहरीमा दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु, एक घाइते
इटहरी, असार ३० — सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा विद्युत वितरण केन्द्र धरानको गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार राति करिब ११ः४० बजे सेउती पुलबाट करिब २०० मिटर अगाडि तरहरातर्फ उत्तरबाट दक्षिण जाँदै गरेको बा १ ञ १६५१ नम्बरको विद्युत कार्यालय धरानको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडी चालक धरान उपमहानगरपालिका–१३ निवासी ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा राति १२ः४५ बजे बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतक बिर्खबहादुर राई विद्युत वितरण केन्द्र धरानका करार चालक कर्मचारी थिए भने सुमन आचार्य सोही कार्यालयमा हेल्पर (द्वितीय तह) पदमा कार्यरत थिए।
दुर्घटनामा घाइते भएका धरान उपमहानगरपालिका–२० निवासी ३२ वर्षीय पवन राई विद्युत वितरण केन्द्र धरानका करार कर्मचारी हुन्। उनको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण सवारी दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


