धामिनी मन्दिरको सरकारी जग्गा अतिक्रमण हटाउन रास्वपाको अल्टिमेटम, साउनभित्र खाली गराउने नगरप्रमुखको प्रतिबद्धता
मुकेश कुमार यादव /सिरहा, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोलबजार नगर समितिले गोलबजार नगरपालिका ६ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धामिनी माताको मन्दिर र त्यससँग सम्बन्धित नेपाल सरकारको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउन पुनः ताकेता गरेको छ। मंगलबार नगर समितिले नगरप्रमुख श्याम श्रेष्ठलाई स्मरण तथा ताकेता पत्र बुझाउँदै मन्दिर परिसरमा व्यक्तिहरूले अतिक्रमण गरी निर्माण गरेका घरटहरा हटाउन तथा सार्वजनिक सरकारी जग्गा संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेको हो।
रास्वपाका नगर सभापति धनेश्वर यादवका अनुसार पार्टीले २०८० फागुन ३० गते नै धामिनी मन्दिरको किता नम्बर असनपुर ७ क ८९ को करिब १ बिघा ४ कट्ठा सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउन ज्ञापनपत्र बुझाएको थियो।
धमिनि मन्दिरको सोहि किता नम्बरको जग्गामा बिगत लामो समयदेखि स्थानिय मिश्री साहले अतिक्रमण गरि तिनकोठे पक्कि भवन निर्माण गरिएको स्थानियको आरोप छ।
साथै, मन्दिरसँग सम्बन्धित जग्गाको यथार्थ विवरण, नापी–नक्सा, श्रेस्ता, हालको अवस्था तथा अतिक्रमणसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन नगरपालिकासँग पत्राचारसमेत गरिएको थियो। तर, ज्ञापनपत्र बुझाएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि नगरपालिकाबाट कुनै लिखित जवाफ, विवरण वा प्रगति प्रतिवेदन प्राप्त नभएको रास्वपा नगर समिति सचिव सन्तोष साहले जनाएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण तथा सरकारी पत्राचारको जवाफ दिनुपर्ने कानुनी दायित्व हुँदाहुँदै पनि नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै ताकेता पत्र भुझाएको बताए ।
उनले भने, ´ताकेता पत्रमा धामिनी माताको मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिएको स्थल भएकाले त्यससँग सम्बन्धित सार्वजनिक जग्गाको संरक्षण गर्नु स्थानीय सरकारको संवैधानिक तथा कानुनी दायित्व हो । लामो समयसम्म यस विषयलाई बेवास्ता गर्नु सुशासन, पारदर्शिता र जवाफदेहिताको सिद्धान्तविपरीत हुने भन्दै पत्र प्राप्त भएको मितिले सात दिनभित्र माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा हालसम्म भएका कामको स्पष्ट लिखित जवाफ उपलब्ध गराउन आग्रह गरिएको छ।
रास्वपाले तोकिएको अवधिभित्र जवाफ नआए सम्बन्धित निकायमा जानकारी गराई सार्वजनिक हितको संरक्षणका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
यता, ताकेता पत्र बुझ्दै गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम श्रेष्ठले सार्वजनिक जग्गा संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले भने, ´यो विषयमा ध्यानाकर्षण गराइदिनुभएकोमा धन्यवाद। सार्वजनिक जग्गा संरक्षणका लागि सबै राजनीतिक दल र सरोकारवालाको सहयोग आवश्यक छ। मैले आजै प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छु। साउनभित्र धामिनी मन्दिरसहित अतिक्रमणमा परेका सार्वजनिक सरकारी जग्गा खाली गराउने प्रतिबद्धता व्यक्त गर्दछु।´
नगरप्रमुख श्रेष्ठले गोलबजार नगरपालिका क्षेत्रमा हजारौं बिघा सार्वजनिक तथा ऐलानी जग्गा रहेको र त्यसको ठूलो हिस्सा विभिन्न व्यक्तिबाट अतिक्रमणमा परेको उल्लेख गर्दै सबै अतिक्रमित सार्वजनिक जग्गा क्रमिक रूपमा खाली गराइने बताए।
ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणसँग जोडिएको विषय भएकाले धामिनी मन्दिरको सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउन स्थानीय सरकारले प्रभावकारी पहल गर्नुपर्ने स्थानीयहरुले माग गर्दै आएका थिए।


