कोशीमा लागू औषधविरुद्धको अभियान : ब्राउन सुगरसहित ५ जना पक्राउ
विराटनगर । कोशी प्रदेश प्रहरीले लागू औषधविरुद्ध सञ्चालन गरिरहेको विशेष अभियानअन्तर्गत ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट कुल ७१ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले विभिन्न जिल्लामा गरेको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
मोरङस्थित अस्थायी प्रहरी चौकी कुशलबजारले चेकजाँचका क्रममा प्र.१–०२–०४९ प ५८७८ नम्बरको मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–१ का २५ वर्षीय सुनिल पासवानलाई ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–४ का सुनिल राईलाई ६१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र ७२ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय दमकले इलामको माङसेबुङ गाउँपालिका–३ का अम्बर साम्बालाई ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
यस्तै, अस्थायी प्रहरी चौकी गरामनीले झापाको भद्रपुर नगरपालिका–४ का मनिष लिम्बुलाई १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
सुनसरीस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले धरान उपमहानगरपालिका–१८ का सौगात सुनुवारलाई ७ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर तथा को २८ प २४३२ नम्बरको स्कुटरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका सबैमाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।


