खोटाङ जिल्ला कारागारमा जेलमुक्त हुन ११ दिन बाँकी रहेका कैदीको कारागारमै मृत्यु
खोटाङ । खोटाङ जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राई रहेका छन्।
सवारी ज्यान मुद्दामा दुई वर्षको कैद सजाय भोगिरहेका राईले मंगलबार बेलुकाको खाना खाएर सुतेपछि मध्यराति बेहोस अवस्थामा भेटिएको जिल्ला कारागारले जनाएको छ।
कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार राईले सुतेअघि राति १२:४५ बजे हुने ‘वर्ल्डकप गेम’ हेर्न उठाइदिन आग्रह गरेका थिए। खेल सुरु भएपछि उठाउन जाँदा उनी बेहोस अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई राति करिब १:५० बजे जिल्ला अस्पताल लगिएको थियो।
जिल्ला अस्पतालका चिकित्सक डा. पुष्कल राईले अस्पताल ल्याउँदा नै उनको मृत्यु भइसकेको पुष्टि गरे। उनका अनुसार मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ।
यता जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले घटनाबारे आधिकारिक विवरण प्राप्त हुन बाँकी रहेको बताए।
राई चालकको रूपमा कार्यरत थिए। जरिवाना रकम बुझाएको अवस्थामा उनी आगामी साउन ११ गते जेलमुक्त हुने तयारीमा थिए।
मृतकका आफन्त बुद्धिबोल राईले मृत्युको कारण स्पष्ट नभएसम्म शव नबुझ्ने बताएका छन्। उनले मृतक परिवार, प्रशासन, प्रहरी तथा राजनीतिक दलबीच छलफलपछि मात्रै शव बुझ्ने निर्णय गरिने भन्दै घटनाको निष्पक्ष छानबिन र मृत्युको कारण यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्।


