खोटाङमा घरायसी विवादमा भाइको हत्या, दुई जना पक्राउ
खोटाङ, असार ३१ । खोटाङको साकेला गाउँपालिका–४ पारुङमा घरायसी विवादका क्रममा भएको झगडामा एक जनाको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २९ गते राति करिब ८ बजे ४८ वर्षीय इमान सिंह राई, उनका भाइ करिब ३५ वर्षीय ओइ मान सिंह राई र ३० वर्षीय जीवन राई (टिका बहादुर राई) ले मादक पदार्थ सेवन गरेका थिए। त्यसक्रममा घरायसी विवाद हुँदा झगडा भएको थियो।
झगडाका क्रममा ओइ मान सिंह राईमाथि धारिलो हतियारले टाउको र पेटमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पुर्याइएको भए पनि उपचारकै क्रममा असार ३० गते राति करिब २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा इमान सिंह राई र जीवन राई (टिका बहादुर राई) लाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूविरुद्ध ज्यान सम्बन्धी कसुर मुद्दा दर्ता गरी खोटाङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन्।


