पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालकको मृत्यु, अर्का एक घाइते
प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्।
प्रहरीका अनुसार भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनामा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए भने रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा मध्यम घाइते भएका थिए।
दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकोमा साँझ करिब ६:३० बजे चिकित्सकले कुण्डन घर्तीलाई मृत घोषणा गरेका हुन्। घाइते पारस बुढालाई थप उपचारका लागि राति करिब ७ बजे बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टर साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


