दोहोरी साँझ बाहिर खुकुरी प्रहार हुंदा एक घाइते,तीन जना पक्राउ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुलेस्थित ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा वीरेन्द्रनगर–४ कालागाउँका ३३ वर्षीय जीवनकुमार शाही रहेका छन्। उनको कर्णाली प्रदेश अस्पताल, कालागाउँमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरेन्द्रनगर–९ का १९ वर्षीय रोशन शाही, पञ्चपुरी नगरपालिका–८ का १८ वर्षीय भरत बोगटी तथा अर्का १६ वर्षीय किशोरलाई एक थान खुकुरीसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अर्का एक जना फरार रहेका छन्। उनको खोजी जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


