कोशीमा लागूऔषधविरुद्धको अभियान: ब्राउन सुगर सहित ६ जना पक्राउ
विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन्।
लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने, मनोपरामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट कुल २ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
सुनसरीमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बराहक्षेत्र नगरपालिका–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीलाई १ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर तथा को १७ प ८३२९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ।
त्यसैगरी, झापाको इलाका प्रहरी कार्यालय केचनाले कचनकवल गाउँपालिका–२ का ३२ वर्षीय विशाल गाईने र २३ वर्षीय सिद्धार्थ गाईनेलाई १८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।
यस्तै, मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारको टोलीले पथरीशनिश्चरे नगरपालिका–६ का २४ वर्षीय शिवलाल किस्कु सतार र २३ वर्षीया रुबिना महरालाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


