बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, तीन जना घाइते
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित धनगढी–दार्चुला सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन्। साथै दार्चुलाको मार्मा गाउँपालिका–३ निवासी ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ। दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि थप खोजी गर्ने क्रममा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ।
यस्तै, अपिहिमाल गाउँपालिका–१ कै ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याललाई गम्भीर घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


