सुन्झोडा खोलामा पुल बन्यो,स्थानियलाई सहज हुने बिश्वास

माेरङ, ४ साउन । पथरीशनिश्चरे नगरपालिका–२ का सन्तोष न्यौपानेका लागि बर्खायाम भनेको केवल पानी पर्ने मौसम मात्र थिएन, त्यो जीवन र मृत्युबीचको जोखिमपूर्ण यात्रा पनि थियो।

 

स्थानीय मंगलबारे बजार पुग्न सुनझोडा खोलाको उर्लिंदो भेल पार गर्नुपर्ने बाध्यताले उनलाई धेरै पटक त्रसित बनाएको थियो। एकपटक त उनले बर्खे बाढीमा बग्ने अवस्था समेत व्यहोरे। त्यो क्षण उनी आज पनि बिर्सन सकेका छैनन्।

 

शनिबार लाग्ने चन्दने बजार पुग्न पनि उनी र स्थानीयवासीले दुई तीन  किलोमिटर टाढाको सेल्फी रोड हुँदै लामो घुमाउरो बाटो रोज्नुपर्ने अवस्था थियो। दैनिक किनमेल, स्वास्थ्य सेवा, विद्यालय तथा अन्य अत्यावश्यक कामका लागि समेत सहज बाटो नहुँदा स्थानीयको जीवन निकै कष्टकर बनेको थियो।

 

तर आइतबारदेखि सन्तोष न्यौपानेको मात्र होइन, सयौं स्थानीयको वर्षौंदेखिको पीडा अन्त्य भएको छ। पथरीशनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने सुनझोडा खोलामाथिको मोटरेबल पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। पुल सञ्चालनसँगै जोखिमपूर्ण यात्रा इतिहास बनेको छ भने सुरक्षित र सहज आवागमनको नयाँ युग सुरु भएको छ।

 

पुलको संयुक्त उद्घाटन पथरीशनिश्चरे–२ का वडा अध्यक्ष नैना राई र मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य सुनिल शर्माले गरेका हुन्। उद्घाटन कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता थियो। वर्षौंदेखिको सपना साकार भएको खुसी स्थानीयको अनुहारमा स्पष्ट देखिन्थ्यो।

 

सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको बजेटबाट निर्माण गरिएको उक्त पुल विराटनगरस्थित कार्की बन्धु कन्स्ट्रक्सन प्रालिले ५ करोड ८६ लाख ७३ हजार ४४८ रुपैयाँ (भ्याटसहित) को लागतमा निर्माण गरेको हो। पुलको शिलान्यास २०८२ साल जेठ १७ गते गरिएको थियो।

 

सुनझोडा खोलामा वर्षायाममा पानीको बहाव बढ्ने बित्तिकै स्थानीयको आवागमन ठप्प हुने अवस्था थियो। विद्यालय जाने विद्यार्थी, उपचारका लागि अस्पताल पुग्नुपर्ने बिरामी, कृषक र व्यापारी सबैले एउटै समस्या भोग्दै आएका थिए। कतिपयले जोखिम मोलेर खोला तर्थे भने कतिपयले लामो घुमाउरो बाटो रोज्न बाध्य हुन्थे।

 

अब भने पुल सञ्चालनमा आएसँगै दुवै नगरपालिकाका नागरिकले सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन्। यसले समय, श्रम र यातायात खर्चसमेत घटाउने अपेक्षा गरिएको छ।

 

स्थानीयवासीका अनुसार पुल निर्माणले शिक्षा, स्वास्थ्य, कृषि र व्यापारिक गतिविधिमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ। किसानले आफ्ना कृषि उत्पादन बजारसम्म सहज रूपमा पुर्‍याउन सक्नेछन् भने विद्यार्थी र सेवाग्राहीलाई पनि आवतजावत सहज हुनेछ।

 

पथरी शनिश्चरे र उर्लाबारीबीचको आर्थिक तथा सामाजिक सम्बन्ध अझ मजबुत बन्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत पुलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

स्थानीयवासीले लामो समयदेखि सुनझोडा खोलामा पुल निर्माणको माग गर्दै आएका थिए। पुल सञ्चालनमा आएसँगै उनीहरूको दशकौं पुरानो चाहना पूरा भएको छ। स्थानीयले पुल निर्माणमा सहयोग पुर्‍याउने सङ्घीय सरकार, जनप्रतिनिधि, निर्माण कम्पनी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖