मोरङको सुन्दरहरैचामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक सवारी चालक छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुन्दरहरैंचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैंचा–१२ का ३५ वर्षीय अविरल मास्के रहेका छन्। पक्राउ परेकामध्ये भट्टराई विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक रहेको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको आरोपपछि आइतबार बिहान करिब १० बजे उनीहरूलाई पक्राउ गरिएको हो।
घटनापछि विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले अनुसन्धानका क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिए कानुनबमोजिम कारबाही गरिने जनाएको छ। साथै, घटनाबारे सामाजिक सञ्जालमा भ्रामक वा अपुष्ट टिप्पणी नगर्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।
यस घटनाप्रति सुन्दरहरैंचा नगरपालिकाले पनि गम्भीर चासो व्यक्त गरेको छ। प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालयलाई पत्राचार गर्दै आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। विद्यालयले पनि उनीहरूलाई निलम्बन गरिसकेको जनाएको छ।


