जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते
बाजुरा — बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ७ जना घाइते भएका छन्।
धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प्र.प्र. ०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप हिमाली गाउँपालिका–२ नातीखोला निवासी अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल, कोल्टी (बाजुरा) लगिएको थियो। उपचारकै क्रममा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये चालक जनवीर बुढाको टाउकोमा चोट लागेको छ र अवस्था मध्यम रहेको छ। हिमाली गाउँपालिका–२ की ३१ वर्षीया मिजरा बुढाको टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम छ।
यस्तै, हुम्लाको ताजाकोट गाउँपालिका–५ की २० वर्षीया अस्मिता थापाको कम्मरमा चोट लागेको छ। २८ वर्षीय जंग सिंह बुढाको हातमा चोट लागेको छ। २० वर्षीय गोरख रोकायाको हात र टाउकोमा चोट लागेको छ। २७ वर्षीय लोकेन्द्र बुढाको हातमा चोट लागेको छ भने अन्दाजी ९ वर्षीया सुस्मा बुढाको आँखामा चोट लागेको छ। यी पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


