मोरङको रंगेलीबाट १०१ ग्राम खैरो हेरोइन सहित दुई भारतीय नागरिक पक्राउ
विराटनगर, साउन ६ गते । मोरङको रंगेलीबाट प्रहरीले १०१ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रंगेली नगरपालिका–७ बसपार्कस्थित हुलाकी सडक क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दुई मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, सिक्टी थाना अन्तर्गत बौकाहा मझरा निवासी २८ वर्षीय मोहम्मद मुन्ना र सोही स्थानका २५ वर्षीय मोहम्मद मकुल रहेका छन्।
प्रहरीले भारतीय नम्बर प्लेट भएका BR38AH7193 र BR38AQ8243 नम्बरका मोटरसाइकलमा सवार उनीहरूको चेकजाँच गर्दा मोहम्मद मकुलको साथबाट १०१ ग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ।
दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


